काठमाडौं– कांग्रेस संसदीय दलको निर्वाचनमा विरोधका बावजुद पनि संस्थापन पक्षका सांसदले मत हालेको तस्बिर खिचेका छन्।
पार्टी सभापति तथा संसदीय दलका नेताका उम्मेदवार शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवाले सांसदलाई तस्बिर खिच्न निर्देशन दिएकाे आरोप लागेकाे छ।
आरजुको निर्देशन अनुसार नै १० जना सांसदले मत हालेको तस्बिर खिचेको दलका नेताका अर्का उम्मेदवार कांग्रेस महामन्त्री गगन थापाले बताए।
आफूहरुले विरोध गर्दा गर्दै पनि देउवा पत्नीको निर्देशनमा सांसदहरुले तस्बिर खिचेको थापाले बताए।
यस्तै उम्मेदवार थापाले ती १० जना सांसदलाई मत हालेको तस्बिर सामाजिक सञ्जालमा आफैं सार्वजनिक गरिदिन अनुरोध गरे।
उनले भने, ‘हामीले विरोध गर्दा गर्दै पनि कसैको निर्देशनमा १० जना सांसदले तस्बिर खिचाएरै प्रमाणका रुपमा देखाउनुभयो। ठीकै छ, को–को हुनुहुन्छ भन्ने हामीले चिनेका छौं। तर अब कम्तिमा पनि मत हालेको तस्बिर सामाजिक सञ्जालमा आफैं सार्वजनिक गरिदिनुहोस्।’
उक्त आरोपबारे प्रधानमन्त्री पत्नी तथा समानुपातिक तर्फबाट नवनिर्वाचित सांसद आरजु राणा देउवाले कुनै टिप्पणी गरेकी छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।