काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री तथा कांग्रेस संसदीय दलको नेताका उम्मेदवार गगन थापाले सांसदहरुले मतदाताको अनुहार हेरेर भए पनि आफूलाई मतदान गर्ने बताएका छन्।
सिंहदरबारभित्र रहेको संसदीय दलको कार्यालयमा निर्वाचन हुँदैछ। मतदानस्थल प्रवेश गर्नेबेला सञ्चारकर्मीहरुसँग कुरा गर्दै थापाले भने, ‘आफ्ना मतदाताको अनुहार हेरेर सांसदहरुले मलाई भोट गर्नुहुनेछ।‘
उनले हरेक मतदाताले परिवर्तनको आकांक्षा राखेर सांसदमा निर्वाचित गराएकाले जनताको भावना र चाहना बुझ्न अनुरोध गरेका छन्। देश परिवर्तनका लागि भए पनि आफ्नो पक्षमा सांसदहरु उभिने उनले विश्वास व्यक्त गरे।
उनले भने, ‘हरेक सांसदहरुले आफ्नो क्षेत्रको मतदाताको भावना चाहना र परिवर्तनको आकांक्षा महशुस गरेको मैले बुझेको छु। उहाँहरु देश परिवर्तनका लागि मेरो पक्षमा उभिने मेरो विश्वास छ।’
नेता थापाले संसदीय दलको निर्वाचन महाधिवेशन नभएको भन्दै गुटको प्रभाव वा दबाबमा नपरेर निर्धक्कसँग मताधिकार प्रयोग गर्न सांसदहरुलाई अनुरोध गरेका छन्।
‘यो निर्वाचन कांग्रेसको महाधिवेशनको नभइ संसदीय दलको निर्वाचन हो। संसदीय दलमा गुट हुँदैन। यसमा मतदाता कांग्रेसका कार्यकर्ता नभइ सांसद हुन्छन्। उहाँहरुले गुट हेर्ने वा दबाब महसुस गर्ने नभइ निर्धक्क मतदान गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।