काठमाडौं– केही बेरमा सुरु हुने भनिएको कांग्रेस संसदीय दलको निर्वाचनमा क्यामेरा लिन पाउने कि नपाउने भन्ने विषयमा विवाद भएको छ।
संसदीय दलको नेताका उम्मेदवार तथा सभापति शेरबहादुर देउवा पक्षले मतदान गर्ने ठाउँमा मोबाइल लिन पाउनुपर्ने माग गरेपछि विवाद भएको छ।
मत हालेको वा नहालेकोबारे निगरानी गर्न मोबाइल लिन पाउनुपर्ने र तस्बिर खिच्न पाउनुपर्ने निर्वाचन संयोजकसमेत रहेका सहमहामन्त्री भिष्मबहादुर आङ्दाम्बेले माग राखेका छन्।
उनको उक्त मागपछि निर्वाचन समितिमा विवाद भएको छ। यता निर्वाचन समितिका सदस्य प्रकाश स्नेहीले मतदानमा क्यामेरा लिने र तस्बिर खिच्नेकुरा विधिसम्मत नहुने भन्दै विरोध गरेका छन्।
विवाद बढेपछि त्यसबारे बुझ्न सहमहामन्त्री जीवनबहादुर परियार संसदीय दलको कार्यालयतर्फ प्रवेश गरेका छन्। साथै देउवा पक्षले मतदान गरेको तस्बिर खिच्न सर्कुलरसमेत गरेको पाइएको छ।
यता निर्वाचनका लागि मतदाता मतदानस्थलमा प्रवेश गर्न थालेका छन्। मतदानका लागि कांग्रेसका सांसदहरु संसदीय दलको कार्यालय सिंहदरबारमा आउन थालेका छन्। संसदीय दलको नेताका लागि सभापति देउवा र महामन्त्री गगन थापा प्रतिस्पर्धामा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।