काठमाडौं– नेपाली कांग्रेसको संसदीय दलको उम्मेदवार बनेका महामन्त्री गगनकुमार थापाले केही बेरमा हुने मतदानमा आफूलाई मतदान गर्न कांग्रेसका सांसदहरुलाई अनुरोध गरेका छन्।
बुधबार बिहान ८ बजेदेखि संसदीय दलको नेता चयनका लागि निर्वाचन हुँदैछ। दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा र थापा प्रतिस्पर्धामा छन्।
निर्वाचनअघि उम्मेदवार थापाले कांग्रेसका नेता तथा सांसदहरुलाई विवेकसम्मत निर्णय गर्न अनुरोध गरेका छन्। उनले भनेका छन्, ‘आज हुन गइरहेको नेपाली कांग्रेसको संसदीय दलको निर्वाचनले देश, जनता र नेपाली कांग्रेसको भविष्य दिशानिर्देश गर्ने छ। भर्खरै सम्पन्न आमनिर्वाचनमार्फत नेपाली जनताले दिएको अभिमतलाई इमान्दारितापूर्वक आत्मसात गरी देश, लोकतन्त्र, संविधान र भावी सन्तानको लागि नेपाली कांग्रेसका आदरणीय अग्रज नेताहरू तथा माननीय सांसदज्यूहरूलाई विवेकसम्मत निर्णय गर्न म हार्दिक अपिल गर्दछु।’
यस्तै वर्तमान राजनीतिक अन्योलता र आर्थिक संकटको अवस्थामा राजनीतिक स्थायित्व सुनिश्चित गर्दै असल शासन र व्यापक आर्थिक सुधारको जगमा समुन्नति र विकास नै अबको राष्ट्रिय अजेण्डा भएको भन्दै सरकारको नेतृत्व, सोच, नीति, कार्यक्रम र कार्यशैली परिवर्तनका पक्षमा जनताले दिएको जनादेशको सम्मान गर्ने उनले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।