काठमाडौं– प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले आफूसँग संसदीय दलको नेताका लागि प्रतिस्पर्धामा उत्रिएका महामन्त्री गगनकुमार थापामाथि प्रहरी निगरानी गराइएको आरोप लागेको छ।
संस्थापन पक्षले संसदीय दलका उम्मेदवार थापाका गतिविधि नियाल्नका लागि सभापतिले प्रहरी लगाएर निगरानी गर्न लगाएको आरोप संस्थापन इतर पक्षले लगाएको छ।
महामन्त्री थापाका सहयोगी सविनराज मुडभरीले आफ्नै पार्टीका महामन्त्रीसँग त्रसित भएर थापाका पछाडि प्रहरी परिचालन गरेको आरोप लगाएका छन्। उनले केही प्रहरीको जानकारीसमेत सामाजिक सञ्जालमा पोस्ट गर्दै महामन्त्रीमाथि सभापतिले षड्यन्त्र र अपराध गरेको बताएका छन्।
साथै दुई जना प्रहरीलाई नियन्त्रणमा लिएर सोधपुछपछि छाडेको उनले बताएका छन्। सोधपुछ गरिएका प्रहरीका तस्बीर र परिचयपत्रसमेत मुडभरीले सामाजिक सञ्जालमा पोस्ट गरेका छन्।
आज कांग्रेस संसदीय दलको निर्वाचन हुँदैछ। देउवा र थापा प्रतिस्पर्धामा छन्। देउवाका प्रस्तावक रामचन्द्र पौडेल र समर्थक पूर्णबहादुर खड्का रहेका छन्। यस्तै थापाका प्रस्तावक शेखर कोइराला रहेका छन् भने समर्थकमा धनराज गुरुङ, विश्वप्रकाश शर्मा र प्रदीप पौडेल रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।