काठमाडौं– बुधबार हुने नेपाली कांग्रेस संसदीय दलको निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका गगन थापा सांसदहरूसँग मत माग्न व्यस्त भएका छन्। गगनलाई संसदीय दलको नेतामा प्रस्ताव गरेका डा शेखर कोइराला पनि उनीसँगै मत माग्न हिँडिरहेका छन्।
गगन र शेखरले केहीबेरअघि चाक्सीबारी पुगेर नेता प्रकाशमान सिंहलाई भेटेका छन्। सिंह प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं–१ बाट निर्वाचित सांसद हुन्।
अघिल्लोपटक सिंह देउवाविरुद्ध संसदीय दलमा उठ्दा थापाले साथ दिएका थिए। सोही कुरा स्मरण गर्दै थापा सहयोगका लागि सिंहकहाँ पुगेका हुन्। सिंहले भने सभापति शेरबहादुर देउवालाई नै साथ दिने संस्थापन पक्षका नेताहरूको दाबी छ।
मंगलबार राति नै शेखर र गगनले केन्द्रीय सदस्य एवं सांसद शशांक कोइरालासँग भेटेका छन्। शशांकले संसदीय दलमा शेखर नउठे आफूले देउवालाई नै सहयोग गर्ने यसअघि घोषणा गरिसकेका थिए।
कांग्रेस संसदीय दलको नेताका लागि बुधबार बिहान ८ बजेदेखि १० बजेसम्म मतदान हुँदैछ। दलको नेताका लागि सभापति देउवा र महामन्त्री थापाले उम्मेदवारी दर्ता गराएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।