काठमाडौं- कांग्रेस संसदीय दलको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ। सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले उम्मेदवारी दर्ता गराएका छन्। देउवाको प्रस्तावकमा रामचन्द्र पौडेल र थापाको प्रस्तावमा शेखर कोइराला छन्। बुधबार बिहान यिनै दुई उम्मेदवारका लागि निर्वाचन हुँदैछ।
वर्तमान प्रधानमन्त्री भएका कारण, पार्टी सभापति भएका कारण, निर्वाचनका लागि वितरित टिकटको प्रमुख हर्ताकर्ता भएका कारण संसदीय दलको निर्वाचनमा शेरबहादुर देउवाको अनुकूलता बढी देखिन्छ। किनकि, राज्यसत्ता र पार्टीसत्ताको प्रभावले उनले सांसदहरूलाई प्रभावित पार्ने सम्भावना बढी छ। त्यहीमाथि उनले निर्वाचनअघि नै आफ्ना पक्षका धेरै सांसद जितेर आउने परिस्थिति निर्माणको प्रयत्न गरेका थिए।
महामन्त्री थापाका पनि अनुकूलता कम छैनन्। आफ्नो अनुकूलता बुझेरै हुनुपर्छ, उनी प्रतिस्पर्धामा होमिएका। त्यसो त उनले मंसिर ४ को निर्वाचनअघि नै आफू संसदीय दलको नेताका लागि प्रतिस्पर्धा गर्ने घोषणा गरेका थिए। सोही अनुसार उनले संस्थापन इतर समूहको साझा उम्मेदवार बन्ने प्रयत्न गरिरहेका थिए।
के छन् थापाका अनुकूलता?
परिवर्तनकाे विकल्प
कांग्रेसलाई बुढाहरूको पार्टी भन्ने आरोप लाग्ने गरेको छ। कार्यशैली र निर्णय प्रक्रियामा त्यो बेलाबखत प्रकट पनि हुने गरेको छ। पुरानो नेतृत्वलाई सम्मान गर्दै नयाँ पुस्ताले पार्टी नेतृत्व सम्हाल्नुपर्ने आवाज उठाउने नेता हुन्, थापा। त्यसैले कांग्रेसभित्र परिवर्तनको चाहना राख्ने सांसदहरूका लागि उनी बलिया विकल्पको रुपमा प्रस्तुत भएका छन्।
कांग्रेसको भविष्य
कांग्रेस पुस्तान्तरणको संक्रमणकालीन समयमा छ। देउवा लगायतका पहिलो पुस्ताका नेताहरूले कांग्रेसभित्र जारी राखेको प्रभावको पनि समय सकिनै लागेको छ। कांग्रेसको भविष्य अब थापाहरूकै हातमा आउन लागेको बताइन्छ। थापाले आफूलाई मात्रै होइन, आम मानिसले पनि उनलाई कांग्रेसको भविष्यकै रुपमा प्रस्तुत गर्छन्। कांग्रेसभित्र लामो भविष्य हेर्ने सांसदहरूले उनलाई रोज्न सक्छन्।
युवा नेताहरूको साथ
संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता हुँदै गर्दा दुई उम्मेदवार मात्रै होइन, दुई पुस्ता र दुई प्रवृत्ति प्रष्टसँग छुट्टियो। देउवाको प्रस्तावक नै रामचन्द्र पौडेल बसेका थिए। उनको पक्षमा उनी हाराहारीकै नेताहरू खुलेका छन्। जबकि, थापाको पक्षमा युवा नेता भनेर चिनिएका विश्वप्रकाश शर्मा, बद्री पाण्डे, जीवन परियार, प्रदीप पौडेलजस्ता नेताहरू उभिए। यसले कांग्रेसमा कुन उम्मेदवारले कुन प्रवृत्तिको नेतृत्व गर्छ र त्यसले कांग्रेसलाई कता डोहोर्याउँछ भनेर बुझ्न सहज बनाएको छ। यसको लाभ थापाले उठाउन सक्छन्।
देउवाप्रति दिग्दारी
देउवा पटकपटक संसदीय दलको नेता भइसकेका छन्। पाँच पटक प्रधानमन्त्री पनि भइसकेका छन्। दोस्रो पटक सभापति भइसकेका छन्। उनको निरन्तरताले कुनै नयाँपन दिन सक्दैन। त्यसैले देउवाको रजगजबाट दिग्दार भएकाहरू उनको विपक्षमा उभिँदै थापालाई रोज्न सक्छन्। थापाले नयाँपन सञ्चार गर्ने निश्चित छ।
महाधिवेशनको मत प्रवृत्ति
गत महाधिवेशनमा सभापतिमा देउवा निर्वाचित भए तर दोस्रो चरणको मतदानबाट। थापा भने शेखर कोइराला समूहबाट महामन्त्रीमा निर्वाचित भए। किनकि, दोस्रो चरणमा कोइरालाले १,८५५ मत पाउँदा थापाले भने ३,०२३ मत पाएका थिए। महाधिवेशनको मत-ट्रेन्डले देखाएको थियो, थापाले देउवा पक्षबाटै उल्लेखनीय मत पाए। त्यतिबेला देउवा पक्षकै भनिएका मतदाताले थापालाई मत दिए जस्तै अहिले देउवा पक्षका सांसदले थापालाई मत दिन सक्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।