काठमाडौं– पुस ६ गतेदेखि पोखराको फेवाताल किनारमा सुरु हुने ‘१०औं नेपाल लिटरेचर फेस्टिभल’ अन्तर्गत आयोजना हुने सांगीतिक कार्यक्रमहरुको प्रायोजन खुकुरी रमले गर्ने भएको छ।
फेस्टिभलअन्तर्गत पुस ७ गते स्वर्गीय संगीतकार गोपाल योञ्जनको २५औं स्मृति दिवसको अवसरमा विशेष सांगीतिक कार्यक्रम आयोजना हुनेछ। योञ्जनका गीतहरुको संगालो ‘गोपालय’ पनि सोही अवसरमा विमोचन गरिनेछ। स्व. योञ्जनले पोखरामै लामो समयसम्म लोकसंगीतको अनुसन्धान र लेखनमा बिताएका थिए।
वि.सं २००० मा जन्मिएका गोपाल योञ्जन नेपालका लोकप्रिय र प्रतिभाशाली संगीतकार हुन्। लोकगीत, राष्ट्रिय गीत, आधुनिक गीत, भजन, फ्यूजन, बालगीत, चलचित्र गीत, खेल गीत लगायतका विभिन्न विधामा संगीत सृजना गरेका उनले ‘संगीताञ्जली’ र ‘गीतमञ्जरी’ नामका दुईवटा पुस्तक पनि लेखेका थिए भने करिब एक दर्जन चलचित्रमा संगीत भरेका थिए। ‘सुप्रबल गोर्खा दक्षिण बाहू’, ‘छिन्नलता गीत पुरस्कार’ लगायतबाट सम्मानित योञ्जनको जण्डिसको उपचारका क्रममा २०५३ साल जेठ ७ गते दिल्लीमा निधन भएको थियो।
लिटरेचर फेस्टिभलमा यसबाहेक लोक–ब्याण्ड रैथाने र फ्यूजन गिटारवादक अनिल शाहीले पनि आफ्नो ब्याण्डसँगै विशेष प्रस्तुति दिनेछन्। यीलगायत सबै सांगीतिक कार्यक्रमहरुको प्रायोजन ‘खुकुरी रम’ले गरेको हो।
‘खुकुरी रम’ संगठित क्षेत्रमा स्थापना भएको देशकै पहिलो मदिरा उद्योग ‘दि नेपाल डिस्टीलरिज’ले ६२ वर्षदेखि उत्पादन गर्दै आएको छ। कम्पनीका इभेन्ट म्यानेजर सुदिक्षा अधिकारीले कला, साहित्य र संगीतप्रेमीहरुको विशेष उत्सव ‘नेपाल लिटरेचर फेस्टिभल’सँग सहकार्य गर्न पाउँदा आफूहरुलाई गौरव महसुस भएको बताइन्।
‘लामो समयदेखि ग्राहकको मनमा बस्न सफल ‘खुकुरी रम’ उत्पादन गर्दा हामीले मौलिकतालाई विशेष जोड दिने गरेका छौं। यहीकारण नेपाली मौलिकपनले ओतप्रोत लिटरेचर फेस्टिभलजस्ता कार्यक्रम हाम्रो रोजाईमा पर्ने गर्छन्’, उनले भनिन्।
लिटरेचर फेस्टिभलको आयोजक बुकवर्म फाउण्डेसनका निर्देशक निरज भारीले नेपालीहरुको पहिचानको रुपमा धेरै देशमा निर्यात हुने उत्पादनलाई लिटरेचर फेस्टिभल अन्तर्गतका सांगीतिक कार्यक्रमहरुसँग जोड्न पाउँदा आफूहरुलाई पनि खुशी लागेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।