काठमाडौं– नेपाली कांग्रेस संसदीय दलको नेताका उम्मेदवार तथा महामन्त्री गगनकुमार थापाले नेताहरू रामचन्द्र पौडेल र प्रकाशमान सिंहलाई परिवर्तनको पक्षमा उभिन आग्रह गरेका छन्।
संसदीय दलको नेताको उम्मेदवारी दर्तापछि पत्रकारहरूसँग बोल्दै थापाले यस्तो आग्रह गरेका हुन्। पौडेल अर्का उम्मेदवार तथा पार्टी सभापति शेरबहादुर देउवाका प्रस्तावक हुन् भने सिंह अहिलेसम्म कतैपनि खुलेका छैनन्।
‘श्रद्धेय नेता रामचन्द्र पौडेललाई कांग्रेसको भविष्यको चिन्ता गरेर नेपालको लोकतन्त्रको बारेमा सदा उहाँले गर्दै आउनु भएको चिन्तालाई पनि स्मरण गर्दै र कांग्रेसभित्रको परिर्वतनको सन्देशलाई मनन् गर्न पनि आग्रह गर्छु,’ थापाले भने ‘त्यस्तै अर्का नेता प्रकाशमान सिंहलाई पनि आग्रह गर्न चाहन्छु। अघिल्लो संसदीय दलको निर्वाचनमा उहाँको उम्मेदवारी रहँदा परिवर्तनको पक्षमा दृढतापूर्वक उभिएको स्मरण गराउन चाहान्छु। अहिलेको परिस्थितिलाई विचार गर्न आग्रह गर्छु।’
सिंहले २०७४ को निर्वाचनपछि कांग्रेसको संसदीय दलको नेताका लागि देउवासँग प्रतिस्पार्धा गरेका थिए। त्यो बेला थापा सिंहको पक्षमा लागेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।