काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा औपचारिक रुपमै संस्थापन इतर समूहको नेता भएका छन्। कांग्रेस संसदीय दलको निर्वाचनमा संस्थापन इतर पक्षबाट उम्मेदवार तय गर्न बसेको बैठकमा उनी पनि सहभागी भएका थिए।
संस्थापन इतर समूहले कसलाई उम्मेदवार बनाउने भनेर सोमबारदेखि छलफल गरिरहेको थियो। मंगलबार टुंगिएको छलफलले थापालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो। काठमाडौंको होटल बसेरामा मंगलबार भएको छलफलमा शर्मा पनि सहभागी भएका थिए। यद्यपि उनी सोमबार दिनभर र मंगलबार बिहानको छलफलमा भने सहभागी थिएनन्।
शर्मा यो समूहको छलफलमा पहिलोपटक सहभागी भएका हुन्। उनी आउँदा संस्थापन इतर समूहका नेताहरुले ताली बजाएर स्वागत गरेका थिए।
शर्माले थापालाई संसदीय दलको नेताका लागि आफूले प्रस्ताव गर्ने बताउँदै आएका थिए। होटल बसेरामा उनले संक्षिप्त सम्बोधन पनि गरेका थिए। उनले संसदीय दलको नेताका लागि उम्मेदवार बन्न लागेका अर्का महामन्त्री गगन थापालाई मत दिन सांसदहरुलाई आग्रह गरेका थिए।
‘गगन थापालाई मत दिएर नेपाली कांग्रेसलाई नवीन बनाउने कुराको शंखघोष गर्न सबै सांसद साथीहरुलाई आग्रह गर्न चाहन्छु,’ शर्माले भनेका थिए।
उनले लोकतन्त्रमा गणित र अल्पमत-बहुमतको चर्चा हुने भए पनि जनमतको कुरालाई बिर्सिन नहुने बताएका थिए। ‘देशभरको जनमत, देशभरका भावनालाई बुझेर नै आदरणीय सांसद मित्रहरुले मतदान गर्नुहुनेछ,’ उनको भनाइ थियो।
विद्यार्थी राजनीतिबाट उदाएका शर्मा कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको पेलानमा परेपछि देउवासँग नजिक हुँदै आएका थिए। २०७४ को निर्वाचनपछि देउवाले शर्मालाई पार्टीको प्रवक्ता बनाएका थिए।
कांग्रेसको १४औं महाधिवेशनमा देउवा समूहबाटै महामन्त्रीको उम्मेदवार बन्न चाहेका उनलाई सह-महामन्त्रीको प्रस्ताव गरेका थिए। तर, उनले प्रकाशमान सिंहको समूहबाट महामन्त्रीमा उम्मेदवारी दिएर जित निकालेका थिए। तैपनि उनी देउवासँगै निकट मानिन्थे।
मंसिर ४ मा सम्पन्न निर्वाचनको परिणाम आउने क्रममा शर्माले थापालाई संसदीय दलको नेताका लागि प्रस्ताव गर्ने बताएपछि उनी देउवा समूहबाट अलग्गिएको अर्थ लगाइएको थियो। मंगलबार भने उनी औपचारिक रुपमै शेखर-गगन समूहको छलफलमा पुगेर स्वागत पाएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।