काठमाडौं– नेपाली कांग्रेसको संसदीय दलको नेताका लागि महामन्त्री गगन थापाको उम्मेदवारी दर्ता गर्ने तयारीका बीच इतर पक्षका नेताहरु प्रदीप पौडेलको प्रतिक्षामा रहेका छन्।
संसदीय दलको नेताका लागि महामन्त्री गगन थापाको उम्मेदवारी मनोनयन पत्र तयार भइसकेको छ। थापाको उम्मेदवारीमा डा शेखर कोइराला प्रस्तावक छन्। यस्तै, उपसभापति धनराज गुरुङ र अर्का महामन्त्री विश्वप्रकाश शर्मा समर्थक छन्।
कांग्रेस संसदीय दलको निर्वाचन समितिले संसदीय दलको उम्मेदवारी दर्ताको समय मंगलबार दिउँसो २ बजेका लागि तय गरेको छ।
उम्मेदवारी दर्ताका लागि थापाको मनोनयन पत्र तयार भएपनि काठमाडौं क्षेत्र नम्बर ५ का सांसद् रहेका पौडेलको प्रतिक्षामा सबैजना रहेको इतर पक्षका एक नेताले जानकारी दिए। ती नेताका अनुसार पौडेलले भने आफू नेता कृष्णप्रसाद सिटौलासँग छलफलमा रहेको जानकारी दिएका छन्।
सिटौला सँगको भेटवार्ता सकिएपछि पौडेल पनि इतर पक्षको बैठकमा सहभागी हुने जनाइएको छ। पौडेल सहभागी भएपछि नेताहरु उम्मेदवारी दर्ताका लागि जानेछन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।