उदयपुर– उदयपुरको कटारी नगरपालिका–१० पालसिंहमा भएको बोलेरो जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ। छ जना घाइते भएका छन्।
ट्राफिक प्रहरी पोष्ट कटारीका इन्चार्ज प्रहरी सहायक निरीक्षक दीपक कोइरालाका अनुसार मृत्यु हुनेमा उदयपुरको ताप्ली गाउँपालिका–१ वस्ने ६५ वर्षीय मीनबहादुर सार्की रहेका छन्। गम्भीर घाइते सार्कीको उपचारका लागि कटारी अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो।
ताप्ली गाउँपालिकाको रुपाटारबाट कटारीतर्फ आउँदै गरेको प्र २–०१–००१ च ००५० नम्बरको बोलेरो आफैं अनियन्त्रित भई दुर्घटनामा परेको थियो। दुर्घटनामा सर्लाही लालबन्दीका ३० वर्षीय फणिन्द्र श्रेष्ठ घाइते भएका छन्।
त्यसैगरी श्रेष्ठ परिवारकै भावना श्रेष्ठ, भवानी श्रेष्ठ र दुई वर्षीय भूमिका श्रेष्ठ घाइते भएका छन्। श्रेष्ठ परिवार ताप्ली गाउँपालिका–२ रामपुर झिल्के ससुरालीबाट फर्किंदै गर्दा दुर्घटनामा परेका थिए। त्यसैगरी ताप्ली–५ की २३ वर्षीय सुमित्रा गिरी र वडा नम्बर ४ का झपडबहादुर विश्वकर्मा पनि घाइते भएका छन्।
घाइतेको कटारी अस्पतालमा उपचार गरिएको अस्पतालका सूचना अधिकारी नवीनकुमार बस्नेतले बताए। घाइतेमध्ये फणिन्द्र, भूमिका र झपडबहादुरलाई थप उपचारका लागि अन्यत्र रेफर गरिएको छ।
जीप चालक ताप्ली–५ खानीडाँडाका ३२ वर्षीय ईश्वर नारायण श्रेष्ठलाई प्रहरी चौकी वेतेनीले नियन्त्रणमा लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।