काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा प्रतिनिधि सभा सदस्य पशुपति समशेर जबराले राप्रपा पुराना पार्टीहरूलाई खबरदारी गर्न संसद्मा आएको बताएका छन्।
सोमबार पार्टीको केन्द्रीय सचिवालयले आयोजना गरेको पार्टीबाट निर्वाचित सांसदहरुलाई स्वागत तथा बधाई कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य जबराले राप्रपा पुराना पार्टीहरूलाई खबरदारी गर्न संसद्मा आएको बताएका हुन्।
उनले देशलाई अहिलेकै ढंगमा चलाएर अगाडि बढाउन नसकिने बताए। ठूला पार्टीहरुसँग काम गर्ने शक्ति पनि नभएको उनको भनाइ छ।
उनले राप्रपाले मुलुकलाई सञ्चालन गर्ने क्षमता संसद्बाट देखाउने बताए। जबराले भने, ‘नेपाल अहिलेको ढंगबाट चलेर अगाडि बढ्न सक्दैन। नेपाललाई जुन मौका अहिले हासिल छ त्यो मौका अनुसार ठूला पार्टीबाट काम गर्ने शक्ति उनीहरुसित छैन। देश बनाउने क्षमता संसद्बाट देखाउन अब राप्रपा अगाडि बढ्छ। राप्रपा पुरानो विचार मात्र होइन। राप्रपा नयाँ जोश, नयाँ उत्साहसाथ संसद्मा गएको छ।’
जबराले अन्य राजनीतिक पार्टीले भन्दा राप्रपाले धेरै काम गर्न सक्ने दाबी गरे। उनले आफूहरुले भोलिको नेपाल कस्तो हुनसक्छ भन्ने कुरा संसद्मा प्रदर्शन गरेर देखाउने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।