काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले विदेशी दूतावासमा हुने कार्यक्रममा पार्टीको अनुमतिबिना नजान निर्देशन दिएका छन्।
सोमबार राप्रपाको केन्द्रीय सचिवालयले आयोजना गरेको पार्टीबाट निर्वाचित सांसदहरुलाई स्वागत तथा बधाई कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले दूतावासले बोलाएर रक्सीमासु खुवाउने भन्दै त्यस्तो नगर्न आग्रह गरे। लिङ्देनले सांसदहरुलाई अनुशासन र मर्यादामा बस्न दिर्नेशन दिए।
‘अब तपाईंहरुलाई कहिलेकाहीँ अन्तर्वार्तामा बोलाउँछन्। कहिले कुनै विदेशी दूतावासहरुले कार्डहरु पठाइराख्छ। ए मलाई फलाना दूतावासले बोलाएको छ भनेर खुरुर्र कुदेर गएर त्यहाँ रक्सी खानेले रक्सी खाने मासु खान पाउनेले मासु खान कुदिहाल्नु हुन्न। पार्टीलाई सोधेर जानुपर्छ’, उनले भने।
उनले राप्रपालाई सरकारमा जान हतारो नभएको समेत बताए। आफूहरुले सरकारमा नजाने भनेर कसम पनि नखाएको भन्दै आगामी दिनमा के गर्दा आफ्ना मान्यताहरु स्थापित हुन्छन् सोही अनुसार गर्ने अध्यक्ष लिङ्देनको भनाइ छ।
उनले आफूहरु मन्त्री खानका लागि कसैको घर नधाउने स्पष्ट पारे। अध्यक्ष लिङ्देनले राप्रपा कुनै दलको पुच्छर नबन्ने पनि बताए। उनले सरकारमा जानुपरेमा वा कसैलाई समर्थन गर्नुपरेमा कारणसहित गर्ने उल्लेख गरे।
पार्टीमा योगदान गरेका र क्षमता र सम्भावना भएका नयाँ व्यक्तिहरुलाई सांसद बनाइएको दाबी गरे। पार्टीमा नयाँ मानिसहरुलाई पनि अवसर दिनुपर्ने र फराकिलो दृष्टिकोण राख्नुपर्ने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।