काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्काल वामपन्थीको सहकार्य भएर (कम्युनिस्ट) सरकार बन्ने सम्भावना नरहेको बताएका छन्। अहिलेको अवस्थामा वाम–लोकतान्त्रिक (सत्ता) गठबन्धनको नेतृत्वमा नयाँ सरकार गठन हुने नेपालको भनाइ छ।
पार्टीका तर्फबाट प्रतिनिधि सभा र प्रदेश सभामा नवनिर्वाचित सांसदको स्वागत कार्यक्रममा अध्यक्ष नेपालले गठबन्धनमा आबद्ध दलका नेता चयन भएपछि सरकार गठनको प्रक्रिया अगाडि बढ्ने बताए।
कुनै पनि दलको बहुमत नरहेको अहिलेको अवस्थामा शक्ति सन्तुलनका आधारमा गठबन्धन अगाडि बढाउन आफूले नेपाली कांग्रेसका सभापति र माओवादी केन्द्रका अध्यक्षलाई सुझाएको नेपालले बताए।
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले देश, जनता र समाजको रुपान्तरण गर्ने सङ्कल्पसहित नवनिर्वाचित जनप्रतिनिधिलाई भूमिका निर्वाह गर्न आग्रह गरे। नीति र कार्यक्रमका आधारमा सरकार बनाउनुपर्ने भन्दै उनले पार्टीका तर्फबाट निर्वाचित कुनै पनि तहका जनप्रतिनिधि भ्रष्टाचारमा संलग्न भएमा कारबाही गरिने चेतावनी दिए।
कार्यक्रममा बोल्दै पार्टीका ‘सम्मानित नेता’ झलनाथ खनालले मुलुकमा राजनीतिक उपलब्धिको रक्षा, राजनीतिक स्थायित्व र स्थिरताका लागि निर्माण भएको गठबन्धनले नै सरकार बनाउनुपर्नेमा जोड दिए। उनले पार्टीले अवलम्बन गरेका आदर्श अवलम्बन गर्दै जनाधिकार स्थापनाका लागि सडक सदनबाट पनि जनप्रतिनिधिले भूमिका खेल्नुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।