सीके राउत (फाइल तस्बिर)
काठमाडौं– जनमत पार्टीका अध्यक्ष सीके राउतले आफूहरु सत्ता गठबन्धनसँग सहमति नजिक पुगेको बताएका छन्। निर्वाचन आयोगको जलपान समारोहमा सहभागी हुन गएका उनले पत्रकारहरुसँग कुरा गर्दै अहिलेको समीकरण र परिस्थितिअनुसार सत्ता गठबन्धनसँगै सहकार्य हुने सम्भावना बढी देखिएको बताए।
‘अहिले घनिभूत रुपमा सत्ता गठबन्धनसँग छलफल भएकै हो। हामी निकट रहेर सहमति नजिक पुगेको अवस्था हो। तर हामी अझै पनि खुला नै छौँ। जताबाट हाम्रो माग मुद्दा सम्बोधन हुने अवस्था आउँछ, त्यसैलाई समर्थन गर्छौँ,’ उनले भने।
उनले आफूहरुले सेवा प्रवाहका मुद्दाहरु, शिक्षा, स्वास्थ्य र रोजगारीका मुद्दाहरुमा प्रतिबद्धता व्यक्त गर्ने दललाई समर्थन गर्ने बताए। ‘भर्खरै हामी किसान आन्दोलनबाट आएका छौँ, त्यसक्रममा उठेका मुद्दाहरुलाई सम्बोधन गर्ने प्रतिबद्धता जुन गठबन्धनबाट आउँछ, त्यसलाई हाम्रो समर्थन रहन्छ,’ उनले भने।
राउतले मधेस प्रदेशमा आफूहरुले मुख्यमन्त्री दाबी गरेको बताए। ‘त्यहाँ संख्यामा हामी निर्णायक छौँ। जनताको अपेक्षा पनि जनमतलाई हेरौँ भन्ने छ। त्यसैले जनमत पार्टीलाई मौका दिनुपर्छ भन्ने हाम्रो धारणा छ,’ उनको भनाइ छ।
राउतले केही दिनअघि एमाले अध्यक्ष केपी ओलीसँग भएको भेट शिष्टाचार भेट मात्रै भएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।