काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय सरकारले आफ्नो काम कारबाहीलाई थप चुस्त, पारदर्शी, प्रविधिमैत्री बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिएका छन्।
सोमबार नेपाल नगरपालिका संघको ८ औं राष्ट्रिय अधिवेशन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। प्रधानमन्त्री देउवाले जनताको अपेक्षा र आवश्यक्तालाई उचित सम्बोधन हुनेगरी स्थानीय श्रोत, साधनको समुचित परिचालन गर्दै स्थानीय जनप्रतिनिधिको जनताप्रतिको आफ्नो दायित्व र जवाफदेहीतालाई कुशलताका साथ निर्वाह गर्न अनुरोध गरे।
स्थानीय तहको सम्भाव्य श्रोतको पहिचान र उचित परिचालन गरी स्थानीय तहलाई क्रमशः आत्मनिर्भर संस्थाको रुपमा विकास गर्दै लैजानुपर्ने उनको भनाइ थियो। प्रधानमन्त्री देउवाले स्थानीय सरकारले गरेका काम र प्रदान गरेका सेवाको आधारमा जनताले सरकारप्रतिको धारणा निर्माण गर्ने भएकाले नगरपालिकाहरुले जनताको विश्वास र मन जित्नेगरी काम गर्न सक्नुपर्ने बताए।
काठमाडौं लगायत सबै नगरहरुलाई दिगो र वातावरणमैत्री विकासको अवधारणाबाट अघि बढाउनुपर्ने भन्दै प्रधानमन्त्रीले सबै प्रतिनिधिहरुलाई वातावरणमैत्री सहरको अवधारणाअनुसार दिगो विकासको मोडेल अवलम्बन गर्न सुझाव दिए। शहरहरुलाई आर्थिक विकासको हबका रुपमा समेत विकास गर्ने कार्यमा सहयोगी भूमिका निर्वाह गर्न नगरपालिका संघलाई उनले अनुरोध गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।