काठमाडौं– चर्चित आख्यानकार डा ध्रुवचन्द्र गौतमलाई उनको ८०औं जन्मोत्सवको अवसरमा ‘आविष्कारी आख्यानकार’ को उपाधिबाट सम्मान गरिएको छ।
आइतबार काठमाडौंकोे कमलादीमा एक समारोह आयोजना गरी ‘श्री लुनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिर’ तथा ‘बसन्त चौधरी फाउण्डेसन’ले उनलाई ‘आविष्कारी आख्यानकार’ को उपाधिले सम्मान गरेको हो।
समारोहमा डा गौतमलाई साहित्यकला मन्दिरका संस्थापक अध्यक्ष बसन्त चौधरीले उपहार अर्पण गरेका थिए। यस्तै, साहित्य कला मन्दिरकी अध्यक्ष मेघा चौधरीले अभिनन्दन गरेकी थिइन्।
सो अवसरमा ‘डा ध्रुवचन्द्र गौतमः ‘आविष्कारी आख्यानका दशकहरु’को नामको पुस्तक समेत लोकार्पण गरिएको थियो। यो पुस्तकको सम्पादन डा खुमनारायण पौडेलले गरेका हुन्।
कार्यक्रममा वरिष्ठ रंगकर्मी हरिहर शर्माले सामूहिक हस्ताक्षरित डा गौतमलाई बधाई दिएका थिए। सो अवसरमा डा गौतमको ८०औं जन्मोत्सव पनि मनाइएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै श्री लुनकरणदास गंंगादेवी चौधरी साहित्यकला मन्दिरका संस्थापक अध्यक्ष बसन्त चौधरीले डा गौतम साहित्यका नित नवीन र घतलाग्दा प्रयोगहरु गर्ने सर्जक रहेका बताए।
‘उहाँप्रति आविष्कारी आख्यानकार’ को उपाधि अर्पण गर्न पाउनु हाम्रा लागि पनि जीवनकै ऐतिहासिक अवसर हो’, चौधरीले भने, ‘महान् कवि गोपालप्रसाद रिमालको कवितांश पैँचो लिएर भन्दा डा गौतम ‘एक युगमा एकदिन एकचोटी जन्मिने’ प्रतिभा हुनहुन्छ।’
डा गौतमका हरेक कृतिले साहित्यमा उज्याला प्रकाशहरु छरेर समग्र नेपाली साहित्यलाई नै प्रज्ज्वलित तुल्याएको चौधरीको भनाइ थियो।
हालसम्म ३२ वटा उपन्यास लेखिसकेका डा गौतम नेपाली आख्यान जगतका कीर्तिमानी सर्जक समेत रहेका चौधरीले बताए। डा गौतमले सबै विधामा गरी हालसम्म ५३ वटा कृति लेखिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।