काठमाडौं– नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा नवनिर्वाचित प्रतिनिधि सभा सदस्य आरजु राणा देउवाले कांग्रेस सभापति शेरबहादुर देउवा नै आगामी प्रधानमन्त्री बन्ने दाबी गरेकी छन्।
आइतबार निर्वाचन आयोगबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र लिएसँगै सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले आगामी प्रधानमन्त्री देउवा नै बन्ने दाबी गरेकी हुन्।
संसदीय प्रणालीमा संख्याको खेल हुने भन्दै उनले देउवासँग सांसदहरुको धेरै संख्या रहेको बताइन्। उनले ठूलो दल पनि नेपाली कांग्रेस भएकाले प्रधानमन्त्रीमा स्वाभाविक रुपमा देउवा हुने उल्लेख गरिन्।
पार्टीका अन्य नेताहरुले संसदीय दलको नेतामा आकांक्षा राख्नु स्वाभाविक भएको पनि उनको भनाइ छ।
‘जितेर आउनुभएको छ। उहाँहरुले दाबी गर्नु स्वाभाविक नै हो। तर, प्रजातन्त्र र संसदीय अभ्यासमा एउटा नम्बरको खेल हुन्छ। त्यसमा आधारित हुन्छ कि को पदमा आउँछ भनेर’, उनले भनिन्, ‘मलाई ज्योतिषी ज्ञान आउँदैन। प्रधानमन्त्री अहिले हेर्दा त शेरबहादुरजी नै हुनुहुन्छ जस्तो लाग्छ। ठूलो दल पनि हाम्रै छ। धेरै संख्या पनि हामीसँगै छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।