काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य शशांक कोइरालाले संसदीय दलको निर्वाचनमा आफ्नो समर्थन शेरबहादुर देउवालाई हुने बताएका छन्।
आइतबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि उनले संसदीय दलको चुनावमा आफ्नो समर्थनबारे खुलेका हुन्।
संसदीय दलको निर्वाचनमा तपाईंको समर्थन देउवालाई नै हो भन्ने पत्रकारको प्रश्नमा कोइरालाको जवाफ थियो- ‘यसो हेर्दा त त्यस्तै लाग्छ। तर, मेरो दाइ नै हुनुहुन्छ। दाइ उठेपछि त असमञ्जसमा पर्छु नि म।’
शशांकका दाइ शेखर कोइरालाले पनि संसदीय दलको निर्वाचनमा उठ्ने तयारी गरेका छन्। देउवा र शेखर दुवै उम्मेदवार भएको स्थितिमा आफूले सोचेर मत दिने शशांकको भनाइ छ।
शशांकले पहिले आफूले पनि संसदीय दलको नेताका लागि दाबी गरेको भए पनि अहिले दाबी नगरेको बताए।
कांग्रेस संसदीय दलको निर्वाचनका लागि देउवा, गगन थापा, शेखर कोइराला र रामचन्द्र पौडेलले खुलेर आकांक्षा राखिरहेका छन्। तर, अन्तिम प्रतिस्पर्धा देउवा र थापाबीच हुने आकलन गरिएको छ। कांग्रेस संसदीय दलको निर्वाचन पुस ६ गते हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।