शंकर पोखरेल (फाइल तस्बिर)
काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले उद्योगी र व्यापारीहरु देश जोगाइदिनुपर्यो भने एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटिरहेको दाबी गरेका छन्। नेपाल उत्पीडित जातीय मुक्ति मोर्चाको कार्यक्रममा बोल्दै उनले आर्थिक संकट बढ्दै गएपछि व्यापारीहरु एमालेकहाँ पुगेको बताए।
उनले भने, ‘नजानिदो हिसाबले आर्थिक संकट पर्दैछ। त्यसबाट निक्लिने उपाय एमालेसँग मात्रै छ। व्यापारी र उद्योगीहरु अध्यक्ष (केपी शर्मा ओली)लाई भेटेर देश जोगाइदिनुपर्यो भनिरहेका छन्। यो मुलुक बर्बाद हुन थाल्यो, अग्रसरता लिइदिनुपर्यो।’
उनीहरुको माग र जनादेश मिल्न नसकेको उनको भनाइ छ। चुनावका समयमा उक्त सत्य स्थापित गर्न नसकिएको स्वीकार्दै अहिले प्रतिपक्षमै रहेर राष्ट्रका लागि भूमिका खेल्न तयार रहेको पोखरेलको भनाइ छ।
पोखरेलले सत्तारुढ दलहरु सत्ता स्वार्थ त्याग्न तयार नभएको बताए। उनीहरु आर्थिक संकट समाधानका लागि तयार नभएकाले एमालेलाई खोज्ने दिन चाँडै आउने पोखरेलको भनाइ छ।
एमालेले लक्ष्यअनुसार चुनाव नजितेको उल्लेख गर्दै पोखरेलले देशलाई एउटै राजनीतिक दलको बहुमत चाहिएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।