काठमाडौं– नेपाली कांग्रेसका नेताहरूले प्रधानमन्त्री शेरबहादुर देउवाकै नेतृत्वमा नयाँ सरकार बन्ने दाबी गरेका छन्।
नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महत, नेता विमलेन्द्र निधिलगायतका प्रतिनिधि सभामा निर्वाचित सांसदहरूले संसद्मा सबैभन्दा ठूलो दलको हैसियतमा कांग्रेसकै नेतृत्वमा नयाँ सरकार बन्नु स्वाभाविक हुने तर्क समेत गरे।
शनिबार पार्टी सभापति एवम् प्रधानमन्त्री देउवाले आयोजना गरेको सांसदहरूको भेलामा सहभागी भएका कांग्रेस प्रवक्ता महतले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि प्रधानमन्त्रीमा इच्छा व्यक्त गरेको भएपनि सरकारको नेतृत्व कांग्रेसले नै गर्नु स्वाभाविक हुने प्रतिक्रिया दिए।
उनले सञ्चारकर्मीमाझ आफ्नै पार्टी नेतृत्वको सरकारलाई देशले र जनताले स्वाभाविक रुपमा लिने धारणा समेत राखे।
‘नेपाली कांग्रेस सबैभन्दा ठूलो दल हो। संसद्मा सबैभन्दा ठूलो दलको हैसियत नेपाली कांग्रेसले प्राप्त गरेको छ। र, गठबन्धनमा पनि हाम्रो फराकिलो अन्तरले ठूलो दलको हैसियत छ’, उनले भने, ‘त्यसअर्थमा स्वाभाविक रुपमा नेपाली कांग्रेसको प्रधानमन्त्री हुने कुरालाई देशले, जनताले सबैले स्वाभाविक रुपमा लिन्छन् भन्ने हाम्रो दृष्टिकोण छ। यद्यपि, यस विषयमा औपचारिक रुपमा कसरी जाने भन्ने विषयमा निर्णय भइसकेको छैन।’
देउवाकै नेतृत्वमा सरकार बन्नेमा कांग्रेस नेता विमलेन्द्र निधि पनि ढुक्क छन्। उनले कांग्रेसको नेतृत्वमा गठबन्धन सरकार बन्नु परिस्थितिजन्य निष्कर्ष भएको औंल्याउँदै सोही बाटोमा मुलुक अघि बढ्ने बताए।
नेता निधिले भन्नु भयो, ‘नेपाली कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार बन्छ। र, हाम्रो चाहना पनि हो। र, अहिलेसम्मको परिस्थितिजन्य निष्कर्ष पनि हो। प्रधानमन्त्री देउवाकै नेतृत्वमा सरकार बन्छ भन्ने हाम्रो ठम्याइ हो।’
सांसद दीपक खड्काले कांग्रेसकै नेतृत्वमा सरकार बनाउन गठबन्धन दलहरूबीचमा सहमति जुट्ने बताए। उनले पार्टी संसदीय दलको नेतामा पनि देउवा भारी मतले विजयी हुने अवस्था रहेको बताए।
‘ठूलो दल हुनुको नाताले नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउन पहल गर्ने र त्यसको पक्षमा सहमति जुट्ने विश्वास छ। सांसदहरूको अंकगणितलाई हेर्ने हो भने देउवाले दाबी गर्दा त्यही नै भारी हुने देखिन्छ’, खड्काले भने।
कांग्रेस नेताहरूले पार्टी संसदीय दलको नेता चयनमा सर्वसम्मतिको प्रयास हुने र त्यो सम्भव नभए पनि देउवा नै निर्वाचित हुने दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।