काठमाडौं– नेपालका लागि अमेरिकी राजदूत डिन आर थमसनले नेपालको आर्थिक समृद्धिका लागि अमेरिकी सरकारले विशेष सहयोग गर्दै आएको बताएका छन्। उनले नेपालको समग्र विकासका लागि विभिन्न क्षेत्रअन्तर्गत परियोजनामार्फत विशेषगरी शिक्षा, स्वास्थ्य, कृषि, विपत्, वातावरणलगायत क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेको बताए।
पश्चिम नेपालको भ्रमणका क्रममा नेपालगञ्ज पुगेका राजदूत थमसनले नेपालमा सूचना, प्रविधि र अङ्ग्रेजी भाषाका विशेष कार्यक्रम ल्याउने तयारी भइरहेको जनाए। ‘नेपालमा धेरै काम गर्न अझ बाँकी छ, यहाँका सडक, जलविद्युत्, विभिन्न साना तथा मझौला उद्योगको विकासमा विशेष जोड दिन चाहन्छौँ।’
नेपालमा सञ्चालित विभिन्न कार्यक्रमले समुदायस्तरका नागरिकमा राम्रो परिवर्तन ल्याएको उदाहरण भ्रमणका क्रममा भेटिएको भन्दै राजदूत थमसनले समावेशिताको कुरामा सुधार भएको र सीमान्तकृत तथा अल्पसङ्ख्यक समुदायलाई पनि थप सहयोग पुगेको छ भने।
अमेरिकाले अब निजी क्षेत्रको सहकार्यमा लगानी गर्ने तयारी गरिरहेको उल्लेख गर्दै उनले भने, ‘नेपाललाई विकसित मुलुकको सूचीमा पार्नका लागि यहाँ विकासका पूर्वाधार तयार गर्न बाँकी छन्, त्यसलाई पूरा गर्न अमेरिकी सरकारको सहयोग निरन्तर रहनेछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।