काठमाडौं– मधेसी आयोगका अध्यक्ष डा विजयकुमार दत्तले घरेलु हिंसा र लैङ्गिक हिंसाका मुद्दामा प्रहरी प्रशासन हुनुपर्ने जति संवेदनशील नभएको बताएका छन्।
ओरेक नेपालद्वाराशनिबार आयोजित एक अन्तरक्रिया कार्यक्रममा उनले नेहा चौधरीको घटनामा प्रहरी प्रशासनले पहिले नै संवेदनशील भएर चासो लिएको भए अहिले पीडितले न्याय पाउनको लागि सडक आन्दोलन गर्नु नपर्ने बताए।
अन्तरक्रिया कार्यक्रममा उठेका प्रश्नहरूको उत्तर दिँदै अध्यक्ष दत्तले नेहाको घटनामा आयोगले उजुरी प्राप्त हुनेबित्तिकै प्रहरी प्रधान कार्यालयलाई पत्र लेखी अनुसन्धान गर्न भनेको र केही दिनपछि सो मुद्दा अदालतमा गएको हुनाले संवैधानिक निकायले त्यसमा हस्तक्षेप गर्न नमिल्नेसमेत स्पष्ट पारे।
उनले नेहाकोको घटनामा सडक आन्दोलन गर्दा बालबालिकाको दुरपयोगसमेत भएको बताउँदै आयोगबाट छिट्टै एउटा टोली स्थलगत अनुसन्धान गर्नका लागि पठाउने जानकारी दिए।
अध्यक्ष दत्तले आफूले पनि सो घटनालाई विशेष ध्यान दिएको र आफैँ पनि महोत्तरी गएर सम्बन्धित प्रहरी र प्रशासन प्रमुखलाई ‘फास्ट ट्रयाक’बाट यो घटनाको अनुसन्धान गर्न निर्देशन दिने कार्यक्रम रहेको जानकारी गराए। कार्यक्रममा राष्ट्रिय मानवाधिकार आयोग, इन्सेकलगयतका संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।