काठमाडौं– सर्लाहीमा सशस्त्र प्रहरी जवानमाथी गोली प्रहार भएको छ। रामनगर गाउँपालिका वडा नं ६ स्थित एक खाजा पसलमा शुक्रबार साँझ गोली प्रहार भएको हो।
रामनगर गाउँपालिका ७ घर भई काभ्रेपलान्चोकको १५ नम्बर गणमा कार्यरत सशस्त्र प्रहरीका जवान सुरेस साह घाइते भएका छन्। उनलाई आफ्नै फुपूको छोरा राम प्रवेश साहले गोली हानेको प्रहरीले जानकारी दिएको छ।
घटनामा अन्य २ जना पनि संलग्न रहेको र हाल उनीहरु फरार रहेको प्रहरीले बताएको छ। राम प्रवेशलाई प्रहरीले पक्राउ गरेको छ। आर्थिक लेनदेनको विषयमा झगडा भएको बुझिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी विजय यादवले जानकारी दिए।
‘४ जना सँगै बसेर खाजा खाइरहेका थिए। एक्कासी गोलीको आवाज सुनिएपछि जाँदा उसको दाहिने हातको पाखुरामा गोली लागेछ। स्थानीय र प्रहरीले तत्काल घाइतेलाई मलंगवा प्रादेशिक अस्पताल लगेका थिए। त्यहाँबाट एपीएफ अस्पताल बलम्बु रेफर गरिएको छ’, यादवले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।