काठमाडौं– ५९ तोला सुन र डेढ लाख रुपैयाँभन्दा बढी चोरी गरेर फरार भएका व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा गोरखाको बारपाक सुलिकोट गाउँपालिका–१ ढुंगेधारा घर भइ काठमाडौं टोखा बस्ने २६ वर्षीय डिलबहादुर घले छन्।
उनले काठमाडौं बनस्थलीस्थित पवित्रा बानियाँको घरबाट २६ तोला बराबरका सुनका गहना र १ लाख १४ हजार र बानियाँकै घरमा डेरा गरी बस्ने केदारनाथ ढकालको कोठाबाट १३ तोला सुन र ५७ हजार रुपैयाँ गत मंसिर १८ गते चोरी गरेको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता कृष्ण कोइरालाले दाबी गरे।
चोरी भएको सूचना प्रहरीकोमा आएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले चोरीमा घलेको संलग्नता रहेको खुलेपछि उनलाई पक्राउ गरेको हो।
घलेलाई गोरखास्थित उनको घरबाट बिहीबार पक्राउ गरी काठमाडौं ल्याइएको अपराध प्रवक्ता कोइरालाले जानकारी दिए।
यसअघि, उनले २०७४ जेठ ७ गते काठमाडौंकै एक घरमा चोरी गरेकोसमेत पाइएको छ। चोरी गरेको पाइएपछि प्रहरी वृत्त लैनचौरले चोरी मुद्दामा उनलाई मुद्दा चलाएको थियो। त्यतिबेला उनी १ वर्ष ७ महिना कैद बसेका थिए भने २ लाख ७२ हजार ८९९ रुपैयाँ जरिवाना तिरेर २०७५ पुस ९ गते डिल्लीबजार कारागारबाट रिहा भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।