काठमाडौं– नेपाल–भारत संयुक्त सैन्य अभ्यास ‘सूर्यकिरण’को १६ औं संस्करण शुक्रबारदेखि सुरु भएको छ।
नेपालको रूपन्देहीस्थित नेपाली सैनिक ब्याटल स्कुल, सालझण्डीमा शुक्रबारदेखि सुुरु भएको संयुक्त सैन्य अध्यासमा दुवै देशका सेनाले आ–आफ्नो सैन्य धुनमा परेड खेलेर दुवै देशको राष्ट्रिय झण्डा फहराएर सूर्यकिरण’ सैन्य अभ्यासको शुभारम्भ गरेका हुन्।
दुई हप्तासम्म चल्ने यो संयुक्त सैन्य अभ्यासमा नेपाली सेना र भारतीय सेनाका पैदल सैन्य दलले अन्तरसैन्य युद्ध क्षमतालाई सुदृढ बनाउनेबारेमा प्रशिक्षण र अनुभव साटासाट गर्नेछन्।
साथै, प्रतिविद्रोह तथा मानवीय सहायता एवम् विपद् राहत अपरेशनबारे पनि संयुक्त अभ्यासमा अनुभव साटासाट गरेर तालिम दिइने जनाइएको। भारतीय सेनामा रहेको गोर्खा रेजिमेन्टको एउटा बटालियन पनि यो सैन्य अभ्यासमा सहभागी हुनेछ।
त्यसका साथै, संयुक्त सैन्य अभ्यासमा नेपाल र भारतका सेनाले एक–अर्काका हातहतियार, उपकरण, रणनीति र कार्यविधिका बारेमा पनि जानकारी गराउने कार्यक्रम रहेको छ।
दुई देशबीचको संयुक्त सैन्य अभ्यास तालिम आगामी पुस १४ मा समापन हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।