पक्राउ परेका नरेन्द्र शिवभक्ति
                                        
                                    
                                                             
                            
                            काठमाडौं–  राहत लिन जाउँ भन्दै जंगलमा पुर्याएर ९० वर्षीया वृद्धाको हत्या गरिएको खुलेको छ। हत्या गरेर वृद्धाको साथमा रहेको ५० हजार पनि लुटेको प्रहरी अनुसन्धानबाट खुलेको छ।  
  
मंसिर २० गते काठमाडौं तारकेश्वर नगरपालिका–६ पुशलबाट ९० वर्षीया वृद्धा डिल्ली पुतुवार हराएकी थिइन्। त्यसको दुई दिनपछि मंसिर २२ गते बिहान साढे ८ बजेतिर तारकेश्वर–६ स्थिती पारिवनपाखाको जंगलमा उनको शव भेटिएको थियो। 
उक्त सामुदायिक जंगलको खोल्सामा टाउको र मुखमा चोट लागेको अवस्थामा पुतुवारको शव भेटिएको थियो। चोट लागेको शव भेटिएपछि हत्या भएको हुनसक्ने भन्दै प्रहरीले अनुसन्धान अघि बढाएको थियो। 
अनुसन्धानका क्रममा उनकै छिमेकी ३९ वर्षीय नरेन्द्र शिवभक्तिले हत्या गरेको खुलेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता कृष्ण कोइरालाले जानकारी दिए। 
शिवभक्तिले मंसिर २० गते चिसापानी चप्पल कारखानामा राहत दिएको छ, लिन जाउँ भन्दै वृद्धालाई जंगलमा पुर्याएर ढुंगाले हानेर हत्या गरेको पाइएको कोइरालाले बताए। 
पक्राउ परेका शिवभक्तिले जंगलमा पुगेर दुवै जनाले चुरोट पिएको बयान दिएका छन्। चुरोट पिएपछि वृद्धासँग पैसा हुनसक्ने भन्दै ढुंगाले हानेर हत्या गरेको पनि बयान दिएका छन्। 
हत्यापश्चात वृद्धाको कम्मरमा भएको ५० हजार रुपैयाँ निकालेर आफूले लगेको र शवलाई खोल्सामा फालेको शिवभक्तिले स्वीकार गरेको प्रहरीले जनाएको छ। मंसिर २९ गते तारकेश्वर पुसलबाट पक्राउ परेका शिवभक्तिलाई थप अनुसन्धान र कारबाहीका लागि प्रहरी वृत्त बालाजुमा पठाइएको छ।
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।