काठमाडौं– नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास सुरु भएको छ। नेपाल–इन्डिया बटालियन लेभल जोइन्ट ट्रेनिङ एक्ससाइज ‘सूर्य किरण–सोह्रौं’ शुक्रबारबाट सुरु भएको हो।
रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कूलमा मध्य पश्चिम पृतना हेडक्वाटरका पृतनापति उपरथी यामप्रसाद ढकालको प्रमुख आथित्यतामा सैनिक अभ्यासको सुरुवात गरिएको हो।
विपत् व्यवस्थापनको समयमा उद्धार र स्वास्थ्य उपचार लगायत प्रतिविद्रोह तथा प्रतिआतंकवाद जस्ता विषयहरु समावेश गरी संचालन भएको उक्त संयुक्त अभ्यासको यो १६औं संस्करण हो।
अभ्यासमा नेपाली सेनाबाट प्रमुख सेनानी विमल कुमार वाग्लेको नेतृत्वमा ३३४ जना र भारतीय सेनाबाट कर्णेल हिमांशु बाहुगुनाको नेतृत्वमा ३३४ जना सहभागी छन्।
अभ्यास पुस १४ गते सम्पन्न हुने कार्यक्रम रहेको छ। यसअघि नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास सूर्य किरणको १५औं संस्करण भारतको पिथौरागढमा सम्पन्न भएको थियो।
२०६७ सालबाट नेपाल र भारतमा वार्षिक रुपमा आलोपालो गरी सञ्चालन हुँदै आएको यस संयुक्त अभ्यास हालसम्म दुवै देशमा गरी १५ पटक सफलता पुर्वक सञ्चालन भइसकेको छ।
यस संयुक्त अभ्यासमा फौजहरुले प्रतिव्रिदोह तथा प्रतिआतंकवाद लगायत जंगलमा गर्नुपर्ने युद्धकला र विपत् व्यवस्थापन सम्बन्धि सैद्धान्तिक ज्ञानलाई व्यवहारिक रुपमा अभ्यास गर्ने छन्। यस अभ्यासमा नेपाली सेना र भारतीय सेनाको सैद्धान्तिक, व्यवहारिक र विशेष अनुभवहरुको आदान प्रदान हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।