काठमाडौं– प्रहरी हिरासतमा रहेका आफ्ना छोरा डा पंकज चौधरीलाई छुटाउन भन्दै बाबु रामप्रेश चौधरीले अदालतमा रिट दायर गरेका छन्। रामप्रेशले महोत्तरी जिल्ला अदालतमा शुक्रबार बन्दी प्रत्यक्षीकरणको रिट दायर गर्दै छोराको रिहाइको माग गरेका हुन्। 
दाइजोको निहुँमा श्रीमतीमाथि कुटपिट गरेको आरोप लागेका पंकजलाई प्रहरीले मंगलबार साँझ पक्राउ गरेर हिरासतमा राखेको छ। उनकी श्रीमती नेहा चौधरीले दाइजोको निहुँमा आफूमाथि कुटपिट गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन्। 
पक्राउ परेका पंकजविरुद्ध दाइजो लिन नहुने र घरेलु हिंसासम्बन्धी २ वटा कसुरमा मुद्दा चलाइएको महोत्तरीका एसपी कृष्ण पंगेनीले जानकारी दिए। 
यता छोरा छुटाउन माग राख्दै रिट हालेका रामप्रेश समेत फरार सूचीमा छन्। नेहाले आफ्ना पतिसहित उक्त परिवारका ६ जनाविरुद्ध जाहेरी दिएकी थिइन्। त्यसपछि उनीहरु फरार भएका छन्। 
३ वर्षअघि काठमाडौंको टाइम्स कलेजमा ११ कक्षामा पढ्दै गर्दा महोत्तरी औरहीकी नेहासँग पंकजको भेट भएको थियो। त्यसपछि प्रेममा परेका उनीहरुले २०७७ फागुन ६ गते टिकाटालो गर्दै एक वर्षपछि २०७८ फागुन २५ गते विवाह गरेका थिए। 
नेहाको माइती पक्षले ५१ लाख रुपैयाँसहित २० तोला सुन दाइजो दिएको बताउँदै आएको छ। दाइजो कम भएको भन्दै श्रीमान् पंकज र परिवारले आफूलाई मानसिक तनाव दिने थालेको नेहाले केही समय अगाडि सार्वजनिक गरेकी थिइन्। 
यसबीचमा प्रहरीले पंकजलाई पक्राउ गरेर सम्झाई–बुझाई गरेर छाडेको थियो। त्यसपछि पनि दाइजोको निहुँमा घरेलु हिंसा हुने क्रम नरोकिएको भन्दै नेहाले पति पंकजविरुद्ध प्रहरीमा जाहेरी दिएकी थिइन्। 
नेहाले आफूमाथि हिंसा भएको सार्वजनिक गरेपछि पंकजलाई ग्राण्डी अस्पतालले सेवाबाट निकालेको थियो।
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।