काठमाडौं– गत आर्थिक वर्षको सुरुआतबाट नै दबाबमा रहेको विदेशी मुद्राको सञ्चिति चालु आर्थिक वर्षको सुरुआतबाट सामान्य मात्रामा बढ्न थालेको छ।
चालु आर्थिक वर्षको चार महिनामा विदेशी मुद्राको सञ्चिति ९ अर्ब ६३ करोड डलर पुगेको छ। असोज मसान्तमा ९ अर्ब ४८ करोड डलर रहेको विदेशी मुद्राको सञ्चिति १ महिनामै १५ करोड डलरले बढेको हो।
चालु आर्थिक वर्षको ४ महिनामा १८ प्रतिशतले आयात घट्नुको साथै रेमिट्यान्स आप्रवाह अमेरिकी डलरमा १०.८ प्रतिशतले बढेपछि विदेशी मुद्राको सञ्चितिमा सुधार आएको हो। यो वर्षको ४ महिनामा गत आर्थिक वर्षको अन्त्यभन्दा विदेशी मुद्राको सञ्चिति ९ करोड डलरले बढेको छ।
गत आर्थिक वर्षको अन्त्यमा विदेशी मुद्राको सञ्चिति ९ अर्ब ५४ करोड डलर रहेको थियो। विदेशी मुद्राको सञ्चिति बढेसँगै शोधानान्तर स्थिति (देशबाट बाहिरिने र भित्रिने विदेशी मुद्राको फरक) पनि २० अर्ब ३० करोड रुपैयाँले बचतमा गएको छ। असोज मसान्तमा शोधानान्तर स्थिति १२ अर्ब ४३ करोड रुपैयाँले बचतमा थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।