काठमाडौं– चालु आर्थिक वर्षको चार महिनाको अवधिमा नेपालबाट हुने निर्यात र नेपालले गर्ने आयात दुवैमा गिरावट आएको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा चालु आर्थिक वर्षको चार महिनामा निर्यात ३३.३ प्रतिशत र आयातमा १८.१ प्रतिशतले कमी आएको हो।
राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चार महिनाको अवधिमा कुल वस्तु निर्यात ३३.३ प्रतिशतल कमी आएर ५४ अर्ब ७७ करोड रुपैयाँ कायम भएको छ। यस्तो निर्यात अघिल्लो वर्षको सोही अवधिमा १०४.३ प्रतिशतले वृद्धि भएको थियो।
गन्तव्यका आधारमा भारत र चीनतर्फ भएको निर्यात क्रमशः ४२.३ प्रतिशत र ३४.२ प्रतिशतले कमी आएको छ भने अन्य मुलुकतर्फको निर्यात ७.४ प्रतिशतले वृद्धि भएको छ।
वस्तुगत आधारमा जिंक शिट, पार्टिकल बोर्ड, ऊनी गलैंचा, चिया, तयारी पोशाक लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाविन तेल, पाम तेल, पिना, जुटका सामान, लत्ताकपडा लगायतका वस्तुको निर्यात घटेको छ।
आर्थिक वर्ष २०७९–०८० को चार महिनामा कुल वस्तु आयात १८.१ प्रतिशतले कमी आई ५३२ अर्ब ६९ करोड रुपैयाँको वस्तु आयात भएको तथ्यांकले देखाएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ६१.६ प्रतिशतले बढेको थियो।
वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १६.५ प्रतिशत, २०.९ प्रतिशत र २०.१ प्रतिशतले कमी आएको छ।
वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, रासायनिक मल, स्पंज आइरन, सुन, हवाइजहाजका स्पेयर पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टपुर्जा, चाँदी, दूरसञ्चारका उपकरण तथा पार्ट्स, एमएस विलेट, कच्चा सोयाविन तेल लगायतका वस्तुको आयात घटेको छ।
यसैगरी, निर्याततर्फ सुख्खा बन्दरगाह, जलेश्वर, कैलाली, कृष्णनगर, मेची, त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ। जलेश्वर बाहेकका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।