काठमाडौं– काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहले महानगरले डबली सभ्यतालाई पुनर्जागरण गर्ने बताएका छन्।
बिहीबार काठमाडौं महानगरपालिकाको २८औँ महानगर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख शाहले महानगरपालिकाले काठमाडौं उपत्यकाभित्र डबली सभ्यतालाई पुनर्जागरण गर्न लागेको बताए। उनले उपत्यका भित्र रहेका डबलीहरुलाई जनचेतनामूलक कार्यक्रमहरु गर्न प्रयोग गरिने बताए।
उनले काठमाडौं उपत्यकाको मौलिक सभ्यता र सम्पदाहरुलाई पुनर्जागृति गराउनुपर्नेमा जोड दिए। प्रमुख शाहले संस्कृतिहरुलाई जगेर्ना गर्नका निम्ति नयाँ पुस्ताहरुमा हस्तान्तरण गर्दै जानुपर्ने बताए।
मौलिक बाजाहरुलाई अभिलेखिकरण गर्दै नयाँ पुस्ताहरुलाई पनि सिकाउँदै जानुपर्ने उनको भनाइ छ।
‘हाम्रो संस्कृतिहरुलाई कसरी पुनर्जागरण गर्ने? कसरी जोगाइराख्ने? कसरी पुस्तान्तरण गर्ने? हाम्रो नयाँ पुस्ताहरुलाई हाम्रो संस्कृति कसरी सिकाउँदै जाने? हाम्रो पुरानो बाजाहरुलाई कसरी अभिलेखिकरण गरेर त्यसलाई प्रदर्शनको रुपमा, प्रतिष्पर्धाको रुपमा, प्रतियोगिताको रुपमा हामीले हाम्रो नयाँ पुस्ताहरुलाई कसरी सिकाउँदै जाने भन्ने कुराहरु पनि राख्यौँ,’ शाहले भने।
प्रमुख शाहले काठमाडौं महानगरपालिकाबाट गरिने सेवा प्रवाहलाई डिजिटलाइज गर्न सुरु गरिएको बताए। उनले शिक्षा, स्वास्थ्य र पूर्वाधार लगायतका क्षेत्रमा छिमेकी पालिकाहरु र सबै तहको सरकारहरुसँग सहकार्य गर्दै अगाडी बढेको बताए।
उनले काठमाडौं महानगरलाई सांस्कृतिक शहर बनाउने सपना पूरा गरेरै छोड्ने पनि बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।