काठमाडौं– आगामी पुस महिनामा काठमाडौंको दशरथ रंगशालामा ‘१० औं किन्डर ओलम्पिक २०७९’ खेलकुदको आयोजना हुने भएको छ।
आयोजक अर्लि चाइल्डहुड एजुकेशन टिचर्स एशोसिएशन (एकता) को आयोजनामा विगत १० वर्षदेखि नियमित रुपमा सञ्चालन हुँदै आइरहेको सो खेल उत्सव यो वर्ष पुस २ र पुस ९ गते आयोजना हुने भएको हो। प्रतियोगितामा काठमाडौं, ललितपुर र भक्तपुरका ३२ वटा विद्यालयका विद्यार्थीहरुको सहभागिता रहनेछ।
प्रतियोगितामा ६ वटा इभेन्ट्सहरु समावेश गरिनेछ। त्यसमा नर्सरी, युकेजी एलकेजीका साढे २ वर्षदेखि साढे ५ वर्षसम्मका साना खेलाडीहरुले भाग लिने आयोजक एकताका सदस्य विद्या श्रेष्ठले बुधवार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए।
प्रतियोगितामा झन्डै १४ सय साना खेलाडीहरु समावेश हुने जानकारी गराइएको छ। पत्रकार सम्मेलनमा आयोजक एकताकी सदस्य लिना श्रेष्ठले सानै उमेरदेखि विद्यार्थीहरुलाई खेलकुदतर्फ आकर्षित गर्ने उदेश्यले किन्डर ओलम्पिकको आयोजना गर्न लागेको जानकारी दिइन्।
हजार भन्दा धेरै विद्यार्थीले सहभागिता जनाउने प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटीले मान्यता दिएको छ। प्रतिष्पर्धी विद्यार्थीहरु एउटै खेलथलोमा प्रतिष्पर्धा हुने सो खेल मेलाले सानो ओलम्पिकको झल्को दिने गरेको आयोजकको दाबी छ। प्रतियोगिता सन् २०१२ देखि निरन्तर रुपमा आयोजना हुँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।