काठमाडौं– सशस्त्र प्रहरी बल, नेपालले एकैपटक आठ हजार चार सय अठासी जना जवानको सरुवा गरेको छ। सरुवा प्रयोजनको लागि केही समयअघि मात्र देशभरका जवानहरुलाई उनीहरुको प्राथमिकता अनुसार तीन वटा युनिटको नाम लेखाएर फारम नै भराइएको थियो। सोही अनुसार सम्भव भएसम्म माग गरे बमोजिमको कार्यालयमा र सम्भव नभए नजिकको अर्को युनिटमा मंगलबार सरुवा गरिएको छ।
यस्तै, सीमावर्ती ईलाकाका युनिटहरुमा लामो समय दरबन्दी भएका जवानहरुलाई सीमा ईलाका बाहेक अन्यत्र सरुवा गरिएको छ। सरुवाको लागि मुख्यालयस्थित उजुरी तथा गुनासो सुनुवाइ शाखामा प्राप्त निवेदन तथा गुनासोलाई समेत उच्च प्राथमिकतामा राखिएको सशस्त्र प्रहरीले जनाएको छ।
यस्तै, मुख्यालयमा दरबन्दी माग गरेका ४५ जना जवानलाई समेत प्राथमिकतामा राखेर सरुवा गरिएको छ।  घर भएको जिल्लामा सरुवा नगरी सम्भव भएसम्म नजिकको जिल्ला र त्यो नभएमा नजिकको प्रदेशमा समेत मिलाएर सरुवा गरिएको सशस्त्रका सहायक प्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले बताए।
विगतदेखिकै सरुवा सम्बन्धी गुनासोलाई सम्बोधन गर्दै श्रीमान–श्रीमतीलाई सम्भव भएसम्म एउटै कार्यालयमा सरुवा गरिएको छ। मुख्यालयले फारम भराएर जवानहरुको ईच्छा अनुसारको कार्यालयमा सरुवा गरेको यो पहिलो पटक हो। यसबाट तल्लो दर्जाका कर्मचारीको मनोबल उच्च हुने र आगामी दिनमा सरुवा सम्बन्धी गुनासो समेत कम हुँदै जाने सशस्त्र प्रहरी बल मुख्यालयले जनाएको छ।
अब बिल्लादार तथा जुनियर अधिकृतसम्म पनि जवानको सरुवाको मापदण्ड र तरिका अपनाएर विस्तारै सरुवा गरिने सशस्त्र मुख्यालयले जनाएको छ।
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।