काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू छिट्टै देशको नेतृत्व गर्ने ठाउँमा पुग्न लागेको बताएका छन्। सत्ता गठबन्धनका दलहरुबीच मुख्य पदको बाँडफाँटको गृहकार्य चलिरहेको समयमा प्रतिनिधि सभाको तेस्रो ठूलो दलका अध्यक्ष प्रचण्डले आफैं प्रधानमन्त्री बन्ने सम्भावना दर्शाएका हुन्।
‘मसँग सायद अब धेरै वर्ष समय छैन। तपाईंहरुको आशीर्वाद लाग्यो, तपाईंहरुको माया र तपाईंहरुको शुभकामनाले काम गर्यो भने मलाई लाग्छ, म छिट्टै देशको नेतृत्व गर्ने ठाउँमा पुग्दैछु,’ बुधबार कास्कीको एक विद्यालयको हीरक जयन्ती महोत्सवमा सम्बोधन गर्दै प्रचण्डले भने।
उनले आफ्नो पहिलो कार्यकाल राम्रोसँग विधि प्रक्रिया र उतारचढावलाई बुझ्नै नपाइकन बितेको बताए। ‘दोस्रो कार्यकालमा मैले देशका लागि केही महत्त्वपूर्ण काम गरेँ भन्ने मलाई गर्व छ,’ उनको भनाइ थियो।
प्रधानमन्त्रीको रुपमा आफ्नो दोस्रो कार्यालयमा राष्ट्रको एकतालाई सुदृढ गर्ने काम गर्न सकेको उनको दाबी थियो। ‘मधेस, पहाड र हिमाल के होला भन्ने जस्तो स्थिति भएको थियो त्यतिबेला। मधेस, पहाड र हिमाललाई एकताबद्ध गर्ने र सिंगै देशलाई एउटा लोकतान्त्रिक प्रक्रियामा प्रवेश गराउने भूमिका खेल्न पाएँ। मलाई त्यसमा गर्व छ,’ उनले भने।
उनले त्यतिबेला आर्थिक विकासलाई गति दिने र कैयौँ दशकदेखि पछि परेको आर्थिक विकासको ग्राफलाई बढाउने अवसर आफूलाई प्राप्त भएको बताए। उनले त्यतिबेला आफूले संविधान बनेपछिको निर्वाचनको सुरुवात गर्न सकेको बताए।
उनले भने, ‘अहिले फेरि देश अराजकतातिर जाने हो कि, केही समस्या आउने हो कि भन्ने बेलामा फेरि हामी भर्खरै अहिले स्थानीय तहको निर्वाचन र प्रदेश र संघको निर्वाचन सम्पन्न गरेर हामीले देशको शासन व्यवस्था र संविधानलाई गति दिने काममा सफलता प्राप्त गर्ने काम गरेका छौँ। यो हामी सबै राजनीतिक दलहरु, नागरिक समाज, बुद्धिजीवी र आम नेपाली जनताकै विजयको रुपमा छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।