काठमाडौं– राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद् सचिवालयका कर्मचारीहरुको सेवा सुविधा बढाउने अवस्था नरहेको स्पष्ट पारेका छन्।
संसद् सचिवालयका कर्मचारीहरुले आफ्नो सेवा सुविधा वृद्धि गर्न माग गरिरहेका बेला अध्यक्ष तिमिल्सिनाको यस्तो भनाइ बाहिर आएको हो। संसद् सेवा दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मुलुकको आर्थिक अवस्थामा सुधार नआई संसद् सचिवालयका लागि बजेट बढाउन नमिल्ने स्पष्ट पारे।
अध्यक्ष तिमिल्सिनाले जनताको आर्थिक अवस्था कमजोर भएका बेला कर्मचारीहरुले आफ्नो सुविधा थप गर्न माग गर्न नहुनेतर्फ पनि सचेत गराए।
देशको आर्थिक अवस्थामा सुधार आएपछि ती विषयहरुलाई सम्बोधन गर्न जोड दिने उनको आश्वासन छ। अध्यक्ष तिमिल्सिनाले सांसदहरुको सुविधा बढाउनुपर्ने विषय पनि उठान हुने गरेको उल्लेख गर्दै अहिले त्यस विषयमा ध्यान दिन नसकिने बताए।
‘संसद् सचिवालयका कर्मचारीहरुको सेवा, सुविधा बढाउने अहिले पनि कहीँ पनि ठाउँ छैन। अतिरिक्त काम गरेकोमा भत्ता दिऊँ, अलिकति बढाऔं भन्यो भने जनता के भएका छन् भन्ने आइराखेको अवस्था छ’, उनले भने, ‘देशको आर्थिक अवस्था सुधार हुँदै जाँदा ती अपेक्षाहरु पनि पूरा हुने हुन्। अन्यथा संसद्मा गर्नुपर्ने धेरै खर्च व्यवस्थापन गर्नका लागि, यसले राम्रो काम गर्नका लागि धेरै चिज छ। त्यसकारण देशको आर्थिक विकास र समृद्धितिर जाँदा मात्रै यी कुराहरुलाई पनि जोड दिन सक्छौं।’
अध्यक्ष तिमिल्सिनाले संसद्को कामकारबाहीबारे वस्तुनिष्ठ समीक्षा गर्दैं अघि बढनुपर्ने आवश्यकता समेत औंल्याए।
कार्यक्रममा पूर्वसभामुख तारानाथ रानाभाटले संसद् अझै पनि सरकार र कर्मचारीतन्त्रको अपहेलनाबाट मुक्त हुन नसक्दा मुलुकमा प्रजातन्त्र कमजोर हुन पुगेको बताए।
उनले संसद् सचिवालयलाई स्वायत्त निकाय बनाएपनि त्यसले जनताको सार्वभौम निकायको रुपमा काम गर्ने क्षमताको विकास गर्न नसकेको गुनासो गरे।
पूर्वसभामुख रानाभाटले संसद्लाई कमजोर हुन नदिए मात्रै मुलुकमा प्रजातान्त्रिक शासन व्यवस्था मजबुत भएर जाने स्मरण गराए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।