काठमाडौं– मोटरसाइकलको ट्यांकीभित्र लुकाई छिपाई ल्याउँदै गरेको २४ लाख १७ हजार रुपैयाँसहित सशस्त्र प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत घर भएका २३ वर्षीय उमेश कुमार छन्। 
धनुषा जिल्लाको बिदेह नगरपालिका–९ ईटहर्वास्थित सीमा इलाकाबाट सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीको टोलीले उनलाई नियन्त्रणमा लिएको हो। 
विशेष सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरीको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश २–०२–००५ प ५७९८ नम्बरको मोटरसाइकलमा नगद २४ लाख १७ हजार रुपैयाँ फेला पारेपछि उनलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका कुमारलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय धनुषा र बरामद रुपैयाँ तथा मोटरसाइकल भन्सार कार्यालय जनकपुरमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीले जानकारी दिएको छ।
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।