काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारमा जाने विषय अहिले आफूहरुको प्राथमिकतामा नरहेको र त्यसबारे पार्टीमा छलफल समेत नभएको बताएका छन्। उनले आफूहरुलाई प्राप्त मत प्रतिपक्षमा बस्नका लागि भएको बताए।
नेपाल लाइभसँग मंगलबार कुराकानी गर्दै उनले राप्रपाको सरकार प्रवेशलाई पूर्णरुपमा नकारेनन्। ‘सकारात्मक भूमिका निर्वाह गर्ने हो। भोलि संसद्मा अनेक प्रकारका तलमाथि हुँदै गएर हामी निर्णायक भयौँ भने र हाम्रो भूमिका रहने भयो भने छलफल गरौँला’, उनले भने।
उनले कुनै पार्टीबाट सुशासन कायम गर्छौँ भन्ने प्रतिबद्धता आयो भने, आफूहरुबिना सरकार नै नबन्ने भयो भने कुनै दलको सरकारलाई समर्थन गर्नसम्म सक्ने सम्भावना पनि प्रस्तुत गरे।
‘नत्र हामी प्रतिपक्षमै बस्छौँ। समर्थन गरेर पनि रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्न सकिन्छ’, उनले भने।
आफूहरुले घोषणापत्रमै आगामी दिनमा सत्ता केन्द्रित राजनीति नगर्ने लेखेको बताए। ‘हिजो राप्रपा सरकारमा जाने मुख्य पार्टीको सहयोगी बन्न तयार हुन्थ्यो। जोसुकैले नेतृत्व गरे पनि राप्रपा सरकारमा जान तयार छ भन्ने छवि बनाएको थियो। अब राप्रपा त्यो छविबाट अलग भएको छ। अब राप्रपा बिनाकारण जो पायो त्यही सरकारमा जाँदैन भन्ने कुरा त हामीले स्पष्ट पारिसकेका छौँ’, उनले भने।
लिङ्देनसँगको भिडिओ कुराकानी मंगलबार साँझ नेपाल लाइभको फेसबुक पेजबाट हेर्न र सुन्न सकिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।