मृतक फुयाल (तस्बिर: सामाजिक सञ्जाल)
                                        
                                    
                                                             
                            
                            काठमाडौं– तार्केश्वर नगरपालिका–३ तीनपिप्लेमा टिपरको ठक्करबाट मृत्यु भएका भनिएका युवकका आफन्तले उनको हत्या भएको आरोप लगाएका छन्। हत्या गरिएको भन्दै मृतकका आफन्त आन्दोलनमा उत्रिएपछि घटनाले नयाँ मोड लिएको छ। 
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता दिनेशराज मैनालीका अनुसार २३ वर्षीय युवक सविन फुयाल आइतबार राति गम्भीर घाइते अवस्थामा फेला परेका थिए। प्रहरीले सुरुमा उनलाई उपचारका लागि अस्पताल पठाएको थियो। उनको उपचारकै क्रममा मृत्यु भएको थियो। 
दुर्घटनामा घाइते भएर मृत्यु भएको भनिए पनि जानी जानी उनको हत्या गरिएको भन्दै आफन्तहरु तोडफोडमा उत्रिएपछि घटनाले नयाँ रुप लिएको छ। आफन्तहरुले तीनपिप्ले प्रहरी चौकीमा तोडफोड गर्नुका साथै १ वटा मोटरसाइकल समेत जलाएको प्रहरीले जनाएको छ। 
तीनपिप्लेमा आइतबार ठूलो आवाज भएको भन्दै स्थानीयले खबर गरेपछि प्रहरी पुग्दा बागमती प्रदेश ०२–०२५ प ६१८९ नम्बरको मोटरसाइकल दुर्घटना भएको अवस्थामा फेला परेको थियो। चालक फुयाल घाइते थिए। 
मोटरसाइकल दुर्घटना भएको भनिए पनि बा ५ ख ६७७९ नम्बरको टिपरले नियोजित रुपमा घटना घटाएको आरोप लागेको छ। 
दुर्घटना भएको भए अचेत व्यक्ति दुर्घटनास्थलमै हुनुपर्नेमा केही पर वालुवाको थुप्रोमा लगेर फालिएको भन्दै आफन्तले उनको हत्या गरिएको आरोप लगाएका छन्। 
मृतकका आफन्तले महालक्ष्मी एन्ड बलामी डिपोका चार वटा टिपरमा समेत क्षति पुर्याएका छन्। टिपर चालक र सहचालकले यो घटना गराएको आरोप आफन्तको छ। 
घटनाको बारेमा अनुसन्धान सुरु गरिएको एसपी मैनालीले बताए। दुर्घटनामा संलग्न रहेको आरोपमा प्रहरीले डिपो सञ्चालक विमल बलामी र चालक शिव बलामीलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ।
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।