काठमाडौं– मंगलबार राति १२:४५ बजे पहिलो सेमिफाइनलमा क्रोएसियाले अर्जेन्टिनाको सामना गर्दैछ। फाइनलमा पुग्नका लागि दुवै टिमको प्रतिष्पर्धा रोचक हुने उनीहरुको पूर्व खेलहरुले दर्शाउँछ।
सन् २०१८ को उपविजेता क्रोएसियाले यसपटको शानदार प्रदर्शन गरिरहेको छ। गत वर्ष फ्रान्ससँग हारेको लुका मड्रिक नेतृत्वको क्रोएसियाको सन् २०१८ मा अर्जेन्टिनासँग समूह चरणमा प्रतिष्पर्धा भएको थियो। जहाँ अर्जेन्टिनालाई ३-० ले हराएको थियो।
दुवै टीमबीच पहिलोपटक सन् १९९४ मा भेट भएको थियो। त्यतिबेला बराबरी गरेका थिए। सन् १९९८ मा अर्जेन्टिनाले १-० ले जितेको थियो भने फेरि सन् २००६ मा भएको फ्रेन्ड्ली म्याचमा क्रोएसियाले ३-२ ले जितेको थियो। सन् २०१४ को फ्रेन्ड्ली म्याचमा अर्जेन्टिनाले २-१ले जितेको थियो।
बराबरी गर्न रुचाउने क्रोएसिया
क्रोएसियाको यो विश्वकप यात्रा रोमाञ्चक रहेको छ। टिमले समूह चरणमा एक खेल जित्यो भने दुईमा बराबरी गरेको छ। यसैगरी राउन्ड अफ १६ मा जापानसँग एक-एक गोलको बराबरी खेल्यो र पेनाल्टी शुटआउटमा जिते निकाल्यो।
यसैगरी ब्राजिलसँग पनि बराबरी खेलेर पेनाल्टी सुटआउटबाटै सेमिफाइनलको यात्रा तय गरेको हो। हालसम्मका पाँच खेलमा उसले ४ बराबरी खेलेको छ। प्राय खेलमा उसले डिफेन्समा बढी मेहनत गरेको देखिएको छ।
अर्जेन्टिनाका विरुद्ध पनि सोही रणनीति अख्तियार गर्ने देखिन्छ। मिडफिल्डको ग्यापबाट पास निकाल्न खप्पिस मेसीलाई रोक्न उसले विशेष रणनीति अपनाउनेछ।
अर्जेन्टिनाको कमजोरी डिफेन्स
उता डिफेन्सकै बलमा सेमिफाइनल खेलिरहेको क्रोएसियासँग खेल्न गइरहेको अर्जेन्टिनाको कमजोरी नै डिफेन्स हो। अर्जेन्टिनाको यो विश्वकप उतारचढावले भरिपूर्ण छ।
पहिलो खेल नै साउदी अरबसँग हारेको उसले बाँकी खेलमा शानदार कमब्याक गरेर अगाडि बढेको हो। साउदी अरबसँग पनि सुरुमा १-० को अग्रता नै लिएको थियो तर डिफेन्सको कमजोरीको फाइदा उठाउँदै साउदी अरबले दुई गोल फर्कायो।
राउन्ड अफ १६ मा अर्जेन्टिनाले अष्ट्रेलियालाई २-१ ले हरायो। क्वार्टरफाइनलमा नेदरल्यान्डसँग २-० अग्रता लिए पनि जोगाउन नसक्दा खेल पेनाल्टी शुटआउटसम्म पुग्यो र गोलकिपरको खुबीका कारण सेमिफाइनलमा आइपुग्यो।
अर्जेन्टिनाले मंगलबारको खेलमा पनि सुरुदेखि नै गोलका लागि प्रयास गर्नेछ। पेनाल्टी शुटआउटमा जितिरहेको क्रोएसियाले भने रोक्ने प्रयास गर्ने निश्चित छ।
अर्जेन्टिनाले ३-५-२ को रणनीति अनुसार खेलाडी मैदानमा उतार्नेछ भने क्रोएसियाले ३-४-३ खेल्नेछ।
सम्भावित ११
अर्जेन्टिना : एमिलियो मार्टिनेज, सर्जियो रोमेरो, निकोलस ओटामेन्डी, लिजान्डरो मार्टिनेज, मोलिना, रोड्रिगो डी पल, एन्जो फर्नांडीज, म्याक एलिस्टर, मार्कस अकुना, लियोनल मेसी र जूलियन अल्वारेज।
क्रोएसिया : लिवाकोविच (गोलकीपर), जुरानोविक, डेन्जेन लवरेन, ग्वर्डिओल, सोसा, कोवासिच, ब्रोजोविक, लुका मोड्रिच, क्रेमरिच, पेटकोविक र इवान पेरिसिच।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।