पोखरा– बङ्गलादेशको राजधानी ढाकामा हुने ‘बङ्गबन्धु एसियन यू–२३ सेन्ट्रल एसियन जोन अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’का लागि यू–२३ राष्ट्रिय टिममा गण्डकी प्रदेशबाट दुई खेलाडी छनोटमा परेका छन्।
नेपाली भलिबल सङ्घले घोषणा गरेको १४ सदस्यीय यू–२३ टिममा गण्डकीबाट बागलुङका रवि केसी र स्याङ्जाका भीमराज गुरुङ छनोटमा परेका छन्। २२ वर्षीय केसी ओपन स्पाइकर र गुरुङ लिबेरो हुन्।
आउँदो पुस ५ देखि ११ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा टिमले नेपालका तर्फबाट भाग लिनेछ। देशभरबाट खुला छनोटमा परेका २० खेलाडीमध्ये एक महिनाको बन्द प्रशिक्षणमा गरेको उत्कृष्ट प्रदर्शनका आधारमा १४ जना खेलाडीको अन्तिम छनौट गरिएको संघले जनाएको छ।
भलिबल खेलको इतिहासमा पहिलोपटक यू–२३ राष्ट्रिय टिम तयार पारी अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले सहभागिता जनाउन लागेको हो। केसी र गुरुङसँगै धिरोजकुमार बस्नेत, सन्तोष खत्री, अर्जुन नेपाली, रुपबहादुर गराउ, विष्णु बस्नेत, सफल विक, सन्तोष महत्ता, मनिष मानन्धर, हेमन्त मल्ल, बेदप्रकाश जोशी, सम्राट भण्डारी र गौरव पाण्डे टिममा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।