काठमाडौं- सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले हिंसात्मक क्रियाकलापमा संलग्नलाई मूलधारमा ल्याउने उद्देश्यका साथ अध्यादेश ल्याउन लागिएको बताएका छन्।
आइतबारको मन्त्रिपरिषद् निर्णयबाट सिफारिस गरिएको अध्यादेशको सर्वत्र विरोध भएपछि मन्त्री कार्कीले बचाउ गरेका हुन्।
‘मुलकलाई आन्तरिक एकताका साथ सहज वातावरणमा सबैलाई काम गर्न दिने मनशायका साथ मुलकको राजनीतिक प्रणालीसँग असहमत रही हिंसात्मक क्रियाकलापमा संग्लन राजनीतिक दल वा समूहलाई मूलधारमा ल्याउने उद्देश्यका साथ हामीले यो अध्यादेश सिफारिस गरेका हौँ’, उनले भने।
मन्त्रिपरिषद्को निर्णय सुनाउन सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले विगतका सरकारले पनि यस किसिमको अध्यादेश जारी गरेको स्मरण गराए।
‘अहिलेको आवश्यकतालाई केन्द्रमा राखेर मुलुकलाई योगदान गर्न चाहने सबैलाई सहज वातावरण सिर्जना गर्नका लागि मन्त्रिपरिषद्ले सिफारिस गरेको छ’, उनले भने।
टीकापुर घटनामा संलग्न भएको ठहरसहित जेल सजाय भोगिरहेका रेशम चौधरी लगायतलाई जेलमुक्त गर्ने अभिप्रायसहित आइतबार अध्यादेश सिफारिस गर्ने निर्णय गरिएको थियो। त्यसको कांग्रेसभित्रैबाट विरोध भइरहेको छ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पनि विरोध जनाएका छन्। विरोधबारे सोधिएको जिज्ञासामा कार्कीले मुलुलाई के चाहिएको भनेर प्रतिप्रश्न गरे।
‘मुलकलाई अहिले के चाहिएको छ? शान्ति, एकता, विकास र समृद्धि चाहिएको छ। त्यसका लागि सबैको योगदान रहोस् भन्ने उद्देश्यका साथ यो (अध्यादेश) जारी गरिएको छ’, उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।