धादिङ– धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ मूलपानीस्थित आहालेमा वृद्ध दम्पती मृत भेटिएका छन्। जिल्लाको उत्तरी क्षेत्रमा पर्ने आहालेका विष्णुबहादुर आलेमगर र निरमाया आलेमगर आफ्नै घरमा मृत भेटिएका हुन्।     
जस्ता र काठले बनेको घरमा बस्दै आएका उनीहरुलाई सोमबार बिहान ८ बजे स्थानीयवासीले मृतावस्थामा फेला पारेको त्रिपुरासुन्दरी–३ का वडाध्यक्ष कमल आलेमगरले जानकारी दिए।
‘विष्णुबहादुरको शव घर बाहिर खाटमा उत्तानो परेको अवस्थामा छ, निधारमा र दाहिने आँखामाथि चोट देखिन्छ, शरीरमा कपडा ओढाइएको छ’, घटनास्थल पुगेका वडाध्यक्ष आलेमगरले भने, ‘निरमायाको शव घरभित्रै छ तर काठको प्वालबाट घरभित्र हेर्दा उनको खुट्टा मात्रै देखिन्छ, हामीभित्र पसेका छैनौँ।’     
मृत भेटिएका दम्पतीका एक छोरी र दुई छोरा छन्। छोरा काठमाडौंमा व्यवसाय गर्दै आएको र छोरीको विवाह भएसकेको स्थानीयवासीले जानकारी दिएका छन्। घटनास्थलमा अहिले जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली खटिएको छ।  
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।