काठमाडौं– संघीय संसद् सचिवालयका महासचिव भरत गौतमले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको महाभियोग निस्क्रिय भयो भनी पठाएको पत्रको जवाफ दिँदै अदालतमा मुद्दा विचाराधीन भएकाले लिखित जवाफका क्रममा सबै उत्तर दिने बताएका छन्।
सर्वोच्च अदालतको पूर्ण बैठक ‘फुलकोर्ट’को पत्रमा आइतबार जवाफ दिँदै महासचिव गौतमले यस्तो भनेका हुन्।
वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यसहित सर्वोच्च अदालत बार एशोसिएसनले संसद्का महासचिवको पत्रविरुद्ध संवैधानिक इजलासमा रिट दायर गरेका थिए। उक्त रिटमा शुक्रबार सर्वोच्चले अन्तरिम आदेश जारी गरेकाले लिखित जवाफमा विस्तृत रुपमा आफूले जवाफ दिने गौतमले उल्लेख गरेका छन्। गौतमले पठाएको लिखित जवाफ सर्वोच्च प्रशासनमा दर्ता भएको छ।
संसद्को पत्र पाएलगत्तै राणा सर्वोच्च फर्कन चाहेका थिए। तर, न्यायाधीशहरुले फुलकोर्ट राखेर पत्रबारे संसद्का महासचिवसँग जवाफ माग गर्ने निर्णय गरेका थिए। फुलकोर्टको निर्णयपछि सहसचिव नारायण रेग्मीले संसद्का महासचिवला पत्र लेखेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।