काठमाडौं– सुदूरपश्चिमबाट प्रतिनिधि सभामा समानुपातिकबाट जम्मा ४ जनाले अवसर पाएका छन्। तीमध्ये १ प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा देउवा रहेकी छिन्।
सुदूरपश्चिमबाट माओवादी केन्द्रले प्रतिनिधि सभामा प्रतिनिधित्व शून्य हुनबाट जोगाएको छ। प्रतिनिधि सभामा १ सिट पनि नजितेको उक्त पार्टीले समानुपातिकबाट कैलालीकी रुपा सोसी चौधरीलाई समेटेको छ।
नेकपा एमालेबाट सुदूरपश्चिममा प्रत्यक्ष २ जनाले जितेका छन्। समानुपातिकमा भने १ जना दयालबहादुर शाहीले मात्रै अवसर पाएका छन्। अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापाबाटै कालुराम राई, हर्कमाया विश्वकर्मा, सुनिता बराल र अमृतलाल राजवंशी गरी ४ जनाले अवसर पाएका छन्।
कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाको गृह प्रदेशबाट समानुपातिकमा २ जनाले अवसर पाएका छन्। देउवापत्नी आरजु राणा देउवा हुन्। बन्दचसूचीमा उनको ठेगाना डडेलधुरा उल्लेख छ। अर्को कैलालीकी ईश्वरी न्यौपाने रहेकी छिन्।
कर्णालीबाट समानुपातिकमा ८ जना
कर्णालीबाट समानुपातिकमा ८ जनाले अवसर पाएका छन्। तीमध्ये ३ जना जुम्ला र २ रुकुम पश्चिमका रहेका छन्।
कर्णालीमा एमालेबाट प्रत्यक्ष कसैले जित्न सकेका छैनन्। समानुपातिकमा पहिलो दल बनेको एमालेले सम्पूर्ण रुपमा प्रतिनिधित्वबिहीन हुनबाट जोगाएको छ। रुकुम पश्चिमबाट चन्द्रबहादुर विश्वकर्मा १ जना समेटिएका छन्।
यसैगरी माओवादी केन्द्रबाट २ जना समेटिएका छन्। जुम्लाकी छिरिङ ल्यामु लामा तामाङले पिछडिएको क्षेत्रबाट पाएकी छिन् भने रुकुम पश्चिमबाट मुस्लिम कोटामा कल्पना मियाँ समेटिएकी छिन्।
नेपाली कांग्रेसले कर्णालीबाट ३ जना समेटेको छ। आदिवासी जनजाति कोटामा दैलेखबाट सीता कुमारी राना, खसआर्यका साथै पिछडिएको क्षेत्रबाट जुम्लाकी कान्तिका सेजुवाल समेटिएकी छिन् र खसआर्यबाटै जाजरकोटकी मैना रावल कार्की प्रतिनिधि सभामा पुगेकी छिन्।
यही निर्वाचनबाट राष्ट्रिय दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टीबाट पिछडिएको क्षेत्रमा जुम्लाकी विनिता कठायत सांसद् बनेकी छिन्। राष्ट्रिय राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सल्यानकी अनिसा नेपाली दलित कलस्टरबाट चुनिएकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।