फलेवास– पर्वतको एक विकट गाउँका कृषकले मौरीपालन व्यवसायबाट वार्षिक २५ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएका छन्।
पर्वत सदरमुकाम कुश्मासँगै जोडिएको बलेवास्थित अमलाचौर–३ का डिलबहादुर खत्रीले व्यावसायिक मौरीपालनबाट सो आम्दानी गर्न सफल भएका हुन्।
विगत डेढ दशकदेखि मौरीपालन व्यवसाय गर्दै आएका खत्रीसँग अहिले झन्डै १ सय घार मौरी छन्। अमलाचौरमै बलेवा मौरीपालन उद्योग खोलेर व्यवसाय सुरु गरेका खत्री परिवारले मौरीका घार, खाली घार र मह बिक्री गरेर वार्षिक २५ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएको हो।
आफ्नै घर वरिपरिको पाँच रोपनी क्षेत्रफलमा व्यवसाय गरेका खत्रीले यसलाई अझै बढाउने योजना बनाएका छन्। उनी धौलागिरि अञ्चलकै नमूना मौरीपालक कृषकका रुपमा परिचित पनि छन्।
वार्षिक रुपमा झन्डै साढे ६ क्विन्टल मह उत्पादन गरेको खत्रीले जानकारी दिए। अहिले प्रतिकिलोग्राम महको मूल्य ७ सय रुपैयाँ छ।
त्यस्तै, मौरीसहितको घारलाई ७ हजार र प्रति खाली घार ३ हजार रुपैयाँका दरले विक्री हुने गरेको उनले जानकारी दिए। वार्षिक रुपमा १ सयदेखि २ सय वटासम्म घार बिक्री गर्ने गरेको खत्रीका छोरा जीवनबाबु खत्रीले जानकारी दिए। वैदेशिक रोजगारीका लागि कतार पुगेका उनी गाउँमा जति कमाइ गर्न नसकेपछि पुनः घरमै फर्केर बुबाकै पेशा अँगालेर बसेका छन्।
१० जनाको संख्यामा रहेको खत्रीको परिवार अहिले मौरीपालन व्यवसायमा संलग्न छन्। मौरीको हेरचाह गर्ने, घार निर्माण गर्ने, दाना खुवाउने र मह काढ्ने कामले उनीहरुलाई भ्याइनभ्याइ छ। 'घरमै बसेर मनग्गे आम्दानी हुन्छ, किन विदेश बसिरहनु भनेर फर्किएँ,' जीवनबाबुले भने, 'अब यही व्यवसायलाई आधुनिकीरण गरेर अझै विस्तार गर्ने योजना छ।'
मौरी व्यवसायका लागि जिल्ला कृषि विकास कार्यालयले समेत विभिन्न समयमा तालिम तथा प्राविधिक सहयोग र घारसमेत दिने गरेको उनले बताए। आफ्नो उद्योगमा उत्पादित मह र घार कुश्मा बजार, बाग्लुङ बजार र पोखरासम्म पनि जाने गरेको जीवनबाबुले जानकारी दिए।
'उत्पादन भएदेखि बजारको कुनै समस्या छैन,' उनले भने, 'ग्रामीण क्षेत्रका फूल र जडीबुटी खाएर बनेको मह भएकाले स्वस्थ्यकर र स्वादिलो हुन्छ।' उनका अनुसार प्रत्येक तीन/तीन महिनामा मह काढ्ने गरिन्छ। जेठ, मंसिर, फागुन र असोजमा मह काढ्ने गरेको खत्रीले जनाए। एकपटकमा एकदेखि डेढ क्विन्टलसम्म मह उत्पादन हुने गरेको उनले बताए।
खत्रीको परिवारले मौरी मात्र नभई गाउँमै दुई वटा पोखरीमा कमन, नैनी र ग्रास जातका माछापालन समेत थालेको छ।
आफ्नो परिवार मात्र नभई यो व्यवसायमा अन्य चार जनालाई रोजगारीसमेत दिएको खत्री अहिले जिल्लाकै नमूना कृषक बन्न सफल भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।