काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रष्टाचार नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको बताएका छन्।
भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा शुक्रबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले भ्रष्टाचारका बहुआयामिक स्वरूप, कारण र प्रभाव हुने भन्दै भ्रष्टाचारको नियन्त्रण दिनानुदिन चुनौतीपूर्ण बन्दै गइरहेको बताएका हुन्।
उनले भ्रष्टाचारविरुद्धको अभियानमा राज्यका सबै संयन्त्र, अदालत, नागरिक समाज र सञ्चार क्षेत्रलगायतको भूमिका र सक्रियता आवश्यक रहेको बताए। प्रधानमन्त्री देउवाले भ्रष्टाचार नियन्त्रणलाई सबैको समन्वयमा अघि बढाउँदै जनमुखी सेवा प्रवाह गर्न जरुरी रहेको धारणा राखे।
उनले भ्रष्टाचारलाई कडाइका साथ नियन्त्रण र निर्मुल गरी स्वच्छ, स्वस्थ, नैतिक र विकसित समाजको निर्माण गर्न सबै एकजुट हुन आवश्यक रहेको बताए। समाजको कलंकको रूपमा रहेको भ्रष्टाचारलाई नियन्त्रण गर्न, भ्रष्टाचारजन्य गतिविधिबाट टाढा रहन र भ्रष्टाचारजन्य कार्यकाविरुद्धमा आवाज मुखरित गरी सदाचार कायम गर्न आवश्यक भएको प्रधानमन्त्रीले बताए।
भ्रष्टाचार नियन्त्रणको अन्तर्राष्ट्रिय दायित्वप्रति सरकार पूर्ण प्रतिवद्ध रहेको बताउँदै उनले भ्रष्टाचारविरुद्धको महासन्धिको कार्यान्वयन गर्न तीनवटै तहबाट राष्ट्रिय कार्ययोजना कार्यान्वयन भइरहेको बताए।
भ्रष्टाचार नियन्त्रणसम्बन्धी अभियान सञ्चालनको खाँचो रहेको भन्दै भ्रष्टाचार नियन्त्रणका लागि कानुन संशोधन गर्न आवश्यक भए सरकार तयार रहेको प्रधानमन्त्री देउवाको भनाइ छ।
प्रधानमन्त्री देउवाले भ्रष्टाचार नियन्त्रणमा आगामी दिनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग थप क्रियाशिल रहने विश्वास व्यक्त गरे। उनले भ्रष्टाचारमुक्त समुन्नत राष्ट्र निर्माणमा सबैजना प्रतिवद्ध भइ अघि बढ्न आग्रह गरे। प्रधानमन्त्री देउवाले भ्रष्टाचारले सार्वजनिक सेवा प्रवाह र विकास व्यवस्थापनका साथै सामाजिक जीवनका सबै क्षेत्रलाई नकारात्मक प्रभाव पार्ने भएकाले भ्रष्टाचार गर्ने मनोवृत्तिमा ठोस सुधार गर्न जरूरी रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।