डडेल्धुरा– नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिममा मुख्यमन्त्रीको दाबीबाट पछि नहट्ने भएको छ। गठबन्धन गरेर डडेल्धुरा प्रदेशसभा–१ बाट नवनिर्वाचित प्रदेशसभा सदस्य खगराज भट्टले माओवादी केन्द्रले मुख्यमन्त्रीको दाबी कायमै राख्ने बताएका हुन्।
डडेल्धुरा सदरमुकाममा सञ्चाकर्मीसँग छोटा प्रतिक्रिया दिँदै माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश इन्चार्जसमेत रहेका भट्टले मुख्यमन्त्रीको दाबीबाट पार्टीपछि नहट्ने ठोकुवा गरेका हुन्। यसका साथै उनले शीर्षतहमा पनि आफूले मुख्यमन्त्री पाउने अनौपचारिक सहमति भइसकेको दाबी गरेका छन्।
सुदूरपश्चिमको मुख्यमन्त्री बन्ने विषयमा पार्टी अध्यक्ष र कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि अनौपचारिक समझदारी भएको भट्टको भनाइ छ। उनले मुख्यमन्त्री बनाउने समझदारीअनुसार आफूले प्रदेशमा चुनाव लडेको बताए। शीर्ष नेताहरूले आफूसँगको समझदारी कार्यान्वयन गर्नेमा भट्टले विश्वास गरे।
‘गठबन्धनमा अनौपचारिक सहमतिअनुसार नै म प्रदेशसभामा लडेको हुँ। त्यो कुराको आंशिक खुलासा प्रधानमन्त्रीज्यूबाट नै आइसकेको छ,’ चुनावका क्रममा प्रधानमन्त्री देउवाले भट्ट सुदूरपश्चिमको मुख्यमन्त्री बन्ने घोषणा गरेका थिए। २० कात्तिकमा गृहजिल्ला डडेल्धुराको परशुराममा आयोजित चुनावीसभामा देउवाले जिताएर पठाए भट्ट नै मुख्यमन्त्री बन्ने दाबी गरेका थिए।
पार्टीभित्र पनि आफू मुख्यमन्त्री बन्नुपर्नेमा सबै एकमत नै रहेको उनको दाबी छ। ‘मुख्यमन्त्री बन्ने सवालमा माओवादी पार्टीमा सबै साथीहरू मप्रति सकारात्मक नै हुनुहुन्छ। हामी ८ जना जितेका छौं। बाँकी समानुमातिकमा पर्ने साथीहरू पनि सकारात्मक नै छन्,’ प्रदेशसभा सदस्य भट्टले भने, ‘संगठनात्मक हैसियत, राजनीतिक ऐतिहासिक निरन्तरता, अहिलेसम्म अवसरबाट वञ्चित भएको र अहिलेका चुनौती तथा कार्यभारलाई सम्हाल्नुपर्ने हिसाबले सबैले मेरो नेतृत्व नै उपयुक्त हुन्छ भनेका छन्।’
स्थायी समिति सदस्यसमेत रहेका भट्टले सुदूरपश्चिममा प्रतिनिधि सभातर्फ माओवादी केन्द्रको नतिजा दुःखद् आएको स्वीकारे। यहाँ पार्टीले व्यहोरेको हारको पूर्ण समीक्षा गरिने उनको भनाइ थियो। प्रदेशसभाको हकमा भने अपेक्षाकृत नै नतिजा आएको उनले बताए। उनले कैलालीमा नागरिक उन्मुक्ति पार्टीको अभूतपूर्व उदयले सबै ठूला पार्टीलाई घाटा लागेको उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।