काठमाडौं– गायक प्रमोद खरेल करिअरको सुरुआती क्षणको एउटा घटना सधैं सम्झन्छन्। पहिलोपटक कसैलाई अटोग्राफ दिन पाउनु गायकको निम्ति सानो खुसी होइन।
उनले कलेजमा आफ्ना प्रिय गायक नारायणगोपालको ‘गल्ती हजार हुन्छन्’ गीत गुन्गुनाए। त्यो गीत सुनेर पछाडि बेन्चमा बसेका एकजना साथी भिड छिचोल्दै आए र उनीसँग अटोग्राफ मागे। ‘मैले जीवनको पहिलो अटोग्राफ नारायणगोपालकै गीत गाएर दिएँ,’ प्रमोद सम्झन्छन्।
‘स्वर सम्राट’ नारायणगोपालले विसं २०४७ मंसिरमा ५१ वर्षको उमेरमा धरती छाडे। बितेको ३२ वर्षपछि पनि कालजयी गीतले उनलाई जीवन्त बनाइरहेका छन्। र, सदियौं बाँच्नेछन् पनि।
नारायणगोपालका गीत सदाबहार गुन्जिरहन्छन्। संगीत, सम्झना र किस्साहरूमा बाँचिरहेका नारायणगोपाललाई नयाँ पुस्ताका सर्जकहरूले उत्तिकै श्रद्धा गर्छन्।
प्रमोदले गीत सुन्न थालेको उमेरदेखि नै नारायणगोपालाई सुने। उनी अहिले पनि पटक–पटक नारायणगोपालका गीत गुन्गुनाइरहन्छन्। ‘भोइस अफ नेपालमा पनि मैले पटक पटक ‘गल्ती हजार हुन्छन्’ गीत गाएको छु,’ प्रमोद भन्छन्।
गायक रामकृष्ण ढकालले गायक बन्न संघर्ष गर्दाका सुरुआती क्षणमा नारायणगोपालकै गीत गाए। नारायाणगोपालका गीत आफ्ना आवाजमा गाउँदा रामकृष्ण धेरैमाझ परिचित भए। र, संगीतको खास बाटो त्यहीँबाट तय भयो।
संगीतकार बीबी अनुरागीको त स्कुल पढ्दा उपनाम नै ‘नारायणगोपाल’ थियो। ‘म उहाँका गीत अत्यधिक सुन्थेँ, अत्यधिक गाउँथे। र, साथीहरूले मेरो नाम नै नारायणगोपाल राखिदिनुभयो,’ उनी सम्झन्छन्।
नारायणगोपाल सुन्न पाउँदैन थिए भने सायदै उनी संगीतमा लाग्थे। स्कुलमा ‘अल्झेछ क्यारे पछ्यौरी’ गीत गाउँदा साथीहरूले गरेको प्रेम उनी कहिल्यै भुल्दैनन्।
गायिका मेलिना राई गायकी सपना बुन्दा नारायणगोपालका गीत गुन्गुनाउँथिन्। नारायणगोपाल चोकमा नारायणगोपालकै स्मृति साँझ हुँदा उनी लगातार शोमा भाग लिन्थिन्। ‘उहाँको गीत अभ्यास गर्दा गाउन निकै कठिन थियो। गाउनुअघि नर्भस हुन्थेँ। गाएपछि पाएको प्रशंसाले नै अहिले मलाई यहाँ उभ्याएको छ,’ उनी भन्छिन्।
गायक राजु लामा नै आफूले संगीतको यात्रा तय गर्नुमा नारायणगोपालकै गीतको योगदान रहेको सम्झन्छन्। ‘उहाँका जादुमयी स्वरले यसरी तान्यो, गायक बन्ने सपना झन्झन् मजबुत बनायो,’ राजु भन्छन्।
गायिका प्रविशा अधिकारी पनि संगीतको अनुशासन मात्र हैन, स्वरको अभ्यासलाई खारिन नारायणगोपालकै गीतका योगदान रहेको सम्झिन्छिन्।
‘फर्कन नसकिने त्यो समय’
नयाँ पुस्तामा स्थापित गायक संगीतकारहरूको स्वीकार्यता छ, ‘हामी संगीतमा नारायणगोपालको छेउछाउसम्म पनि पुग्न सक्दैनौँ।’
किन त ?
बीबी अनुरागी भन्छन्, ‘उहाँका गीतमा प्राण हुन्थ्यो, तर अहिलेकोमा खोई!’
उतिबेला रेकर्डिङ एकै टेकमा हुन्थ्यो। बाजा बजाउने, संगीत भर्ने, स्वर दिने लगायत सबै काम सँगै बसेर हुन्थ्यो। महिनौंदेखि अभ्यास गरेर तयार पारिन्थ्यो। ‘अहिले त डोइट गीत गाउनुपर्यो भने, केटा र केटीकै कहिल्यै भेट नभई रेकर्ड हुन्छ। संगीतकार र गायकको भेट नभई तयार हुन्छ,’ बीबी भन्छन्, ‘त्यसकारण अहिलेको गीतमा जीवन्तता भेट्दिनँ म।’
प्रमोदको पनि चिन्ता उही छ, ‘हामी १० वटा गीत हिट भयो भनेर खुसी हुन्छौं। तर, संगीतको गहिराइबारे अध्ययन गर्दैनौँ।’
त्यसकारण उनी नारायणगोपालका गीत आफ्ना लागि ठूलो अनुसन्धान ठान्छन्। त्यतिबेलाको संगीत साधना र गहिराइको प्रशंसा गर्छन्। ‘उहाँका गीत पूर्वीय गीत गाउनेले होस् वा वेस्टर्न। सबैले रुचाउँछन्। सुन्नका लागि मात्र हैन, ती गीत सिक्नका लागि पनि हुन्,’ उनी भन्छन्।
प्रमोदका अनुसार त्यो बेलाको शैली, गहिराइ, शब्द चयन र संगीतबाट नयाँ पुस्ताले अथाह कुरा सिक्न सक्छ।
मेलिना राई अहिलेको संगीत खस्किएकोमा चिन्ता व्यक्त गर्छिन्। उनी गीतको गुणस्तर बढाउन नारायणगोपाल‘हरू’का गीत सुनेर मनन् गर्नुपर्ने बताउँछिन्।
‘मलाई मेरै पनि कति गीत मन पर्दैनन्। कतिपय बजारको रुचि अनुसार गाउनुपर्छ। आज गाएर भोलि हिट हुनुपर्छ भन्ने मनसाय छ। त्यसले गीतको गुणस्तर मार्छ। त्यसैले त्यो समयबाट हामीले धेरै सिक्नुछ,’ उनी भन्छिन्।
राजु लामा नारायणगोपाललाई संगीतको इतिहास मान्छन्। त्यो इतिहास बुझेर संगीतमा साधना गरे नयाँ पुस्ताको भविष्य बन्ने उनको बुझाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।